जाडोयाममा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ
जाडोयाममा विशेषगरी दुई महिनामा विद्युत्को माग उल्लेख्य रूपमा बढ्ने भएकाले त्यसअनुसारको व्यवस्थापनमा ध्यान दिइएको उनले बताए ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जाडोयाममा विद्युत् आपूर्ति सहज र सन्तुलित बनाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । राष्ट्रिय प्रसारण प्रणालीमा देखिएको चाप तथा आगामी हिउँदमा विद्युत्को माग बढ्ने अवस्थालाई ध्यानमा राखेर आवश्यक व्यवस्थापनका लागि गृहकार्य भइरहेको मन्त्री श्रेष्ठले जानकारी दिए ।
रास्वपा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि करिब १० प्रतिशत विद्युत् प्रणालीबाट बाहिरिएको बताए । त्यसका कारण राष्ट्रिय प्रसारण प्रणालीमा थप चाप परेको भए पनि नेपाल विद्युत् प्राधिकरणले उपलब्ध स्रोत र संरचनाको व्यवस्थापन गर्दै प्रणालीलाई सन्तुलित राखिरहेको उनको भनाइ छ ।
उनले आगामी दिनमा प्रसारण लाइनमा थपिने संरचना, सम्भावित जोखिम र त्यसबाट विद्युत् आपूर्तिमा पर्न सक्ने प्रभावबारे समेत अध्ययन तथा छलफल भइरहेको बताए । ‘अब जोडिने प्रसारण लाइनको अवस्था कस्तो छ, अन्य क्षेत्रमा पनि सम्भावित जोखिम के छन् र त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ मन्त्री श्रेष्ठले भने, ‘जाडो महिनामा पनि अहिले जस्तै विद्युत् आपूर्तिलाई सन्तुलित राख्न आवश्यक तयारी र गृहकार्य गरिरहेका छौँ ।’
जाडोयाममा विशेषगरी दुई महिनामा विद्युत्को माग उल्लेख्य रूपमा बढ्ने भएकाले त्यसअनुसारको व्यवस्थापनमा ध्यान दिइएको उनले बताए । प्रसारण प्रणालीबाट केही संरचना बाहिर रहँदा आपूर्तिमा असहजता आउन सक्ने भए पनि त्यसलाई सम्बोधन गर्न प्राविधिक रूपमा तयारी भइरहेको उनको भनाइ छ ।
मन्त्री श्रेष्ठले नुवाकोटमा बाढीका कारण प्रभावित विद्युत् सेवा २४ घण्टाभित्रै पुनः सञ्चालन गरिएको जानकारी दिए । रसुवामा पनि हालै विद्युतीकरण विस्तार गरिएको उल्लेख गर्दै उनले आगामी सुख्खायाममा विद्युत् व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्राविधिक तयारी भइरहेको बताए ।
‘जाडो महिनामा विद्युत्को माग बढ्छ, विशेषगरी दुई महिनामा माग उच्च हुने भएकाले त्यसलाई ध्यानमा राखेर आवश्यक तयारी गरिरहेका छौँ,’ उनले भने।
