नेप्सेको डाटा सेन्टरमा समस्या, आजको सेयर कारोबार स्थगित

विज्ञापन
ncell

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज असोज ५ गतेको नियमित सेयर कारोबार स्थगित गरेको छ ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज असोज ५ गतेको नियमित सेयर कारोबार स्थगित गरेको छ । ७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर रहेको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान हुन नसकेपछि नेप्सेले आजको कारोबार रोक्ने निर्णय गरेको हो ।

नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीका अनुसार डाटा हब प्रालिमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो । समस्या समाधानका लागि निरन्तर प्रयास गरिए पनि सोमबारसम्म समाधान हुन नसकेपछि आजको नियमित कारोबार स्थगित गरिएको हो ।

नेप्सेका अनुसार उक्त प्राविधिक समस्या समाधान नगरी यथास्थितिमै कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएको थियो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै कारोबार स्थगित गर्ने निर्णय गरिएको नेप्सेले जनाएको छ ।

यसअघि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान नभएसम्म नियमित कारोबार सत्र स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो ।

सोही निवेदन तथा प्राविधिक अवस्थालाई आधार बनाउँदै नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) बमोजिम आजको नियमित सेयर कारोबार स्थगित गरेको जनाएको छ ।