नेपाल कबड्डी टोलीको एसियाली खेलकुद यात्रा हारबाट सुरु
सोमबार भएको समूह ‘बी’को पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ अंकले पराजित भयो।
जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालको पुरुष कबड्डी टोलीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।
तोकाइ सिटिजन जिम्न्याजियममा सोमबार भएको समूह ‘बी’को पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ अंकले पराजित भयो।
खेलको पहिलो हाफमा नेपालले थाइल्यान्डलाई कडा चुनौती दिएको थियो। तर, पहिलो हाफको समाप्तिसम्म नेपाल २४–२८ अंकले पछि परेको थियो। दोस्रो हाफमा नेपालले खेलमा फर्कने प्रयास गरे पनि थाइल्यान्डको आक्रामक खेल रोक्न सकेन।
दोस्रो हाफमा थाइल्यान्डले ३१ अंक जोड्दा नेपालले २४ अंक मात्रै बनाउन सक्यो। अन्ततः थाइल्यान्डले ११ अंकको अन्तरले खेल आफ्नो पक्षमा पार्यो।
भारतमा व्यावसायिक लिग खेलिसकेका घनश्याम रोकामगरको कप्तानीमा मैदान उत्रिएको नेपालले खेलमा २९ रेड अंक र १८ बोनस अंक जोड्यो। नेपालले एक सुपर अंकसमेत प्राप्त गरेको थियो। टोलीका मुख्य प्रशिक्षक विष्णुदत्त भट्ट रहेका छन्।
पहिलो खेलमै पराजित भएपछि समूह चरण पार गर्दै दोस्रो चरणमा पुग्न नेपालमाथि दबाब बढेको छ। आगामी खेलमा नेपालले सुधारिएको प्रदर्शनसहित जित निकाल्नुपर्ने चुनौती छ।
