एनसेल र नाटोबीच साझेदारी, पर्यटकको दूरसञ्चार पहुँच सहज हुने
पर्यटकलाई नेपाल भ्रमणका क्रममा परिवार, साथीभाइ तथा अन्य व्यक्तिसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग गर्ने उद्देश्यले दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं। नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज बनाउन एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) बीच साझेदारी भएको छ । पर्यटकलाई नेपाल भ्रमणका क्रममा परिवार, साथीभाइ तथा अन्य व्यक्तिसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग गर्ने उद्देश्यले दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । साझेदारीअन्तर्गत एनसेलले नेपाल भ्रमणमा आउने पर्यटकलाई भरपर्दो मोबाइल कनेक्टिभिटी उपलब्ध गराउनेछ भने नाटोले देशभर रहेका आफ्ना ट्राभल अपरेटरहरूको सञ्जालमार्फत पर्यटकलाई एनसेलका सेवा सुविधाबारे जानकारी गराउनेछ ।
कार्यक्रममा दत्ताले देशभर फैलिएको एनसेलको नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको पहुँचबीचको सहकार्यले नेपाल आउने पर्यटकको यात्रा अनुभवमा भरपर्दो कनेक्टिभिटी जोड्न सहयोग पुग्ने बताए । “देशभर फैलिएको एनसेलको व्यापक नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको विविधतायुक्त पहुँचलाई उपयोग गर्दै यो साझेदारीले नेपाल आउने पर्यटकहरूको यात्रा अनुभव अविश्मरणीय बनाउन सहयोग गर्नेछ,” उनले भने, “यो साझेदारीले ‘नेपाल कलिङ’ अभियानलाई प्रवर्द्धन गर्न र नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”
नाटो अध्यक्ष श्रेष्ठले पर्यटनको मूल मर्म मानिस, संस्कृति र अनुभवलाई एकअर्कासँग जोड्नु रहेको बताए । “नेपाल आउने हरेक यात्रुलाई आफ्नो यात्राभर सबैसँग सम्पर्कमा रहन मद्दत गर्ने एनसेलसँगको यो अर्थपूर्ण सहकार्यले हामी उत्साहित छौँ,” उनले भने ।
दूरसञ्चार सेवामा सहकार्यसँगै एनसेलले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनमार्फत नाटोलाई प्रमुख राजमार्गमा आधुनिक वास (सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता) पूर्वाधार स्थापना गर्न सहयोग गर्ने भएको छ ।
यसको सुरुवात धादिङको गजुरीबाट पाइलट परियोजनाका रूपमा गरिनेछ। राजमार्ग हुँदै यात्रा गर्ने पर्यटक तथा स्थानीय समुदायका लागि आवश्यक खानेपानी, सरसफाइ र स्वच्छता सुविधाको बढ्दो आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यो पहल अघि बढाइएको हो।दुवै संस्थाले उक्त सहकार्यले नेपालमा दिगो तथा जिम्मेवार पर्यटन विकासमा योगदान पुग्ने बताएका छन् ।
