संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले विपत्तिले विकासको अर्थ सडक, पुल र भवन निर्माणमा मात्र सिमित नभएको स्मरण गराएको बताए । उनले मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि विकासको महत्वपूर्ण पक्ष भएको उल्लेख गरे ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कागजमा लेखिएका शब्दहरूको संग्रह मात्र नभई नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा भएको बताएका छन् । संविधान दिवसका अवसरमा शितल निवासमा शनिबार आयोजित चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले विपत्तिले विकासको अर्थ सडक, पुल र भवन निर्माणमा मात्र सिमित नभएको स्मरण गराएको बताए । उनले मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि विकासको महत्वपूर्ण पक्ष भएको उल्लेख गरे । उनले विपत्तिपछिको पुनर्निर्माण गर्दा भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि पुनःस्थापित गर्नुपर्नेमा जोड दिए ।
जलवायु परिवर्तनका चुनौतीबीच नेपालको विकासको ढाँचा अझ मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री बनाउनुपर्ने उनको भनाइ छ । राष्ट्रपति पौडेलले संविधानले लोकतन्त्र, संघीयता र बहुलवादमा आधारित समावेशी नेपाल निर्माणको अवसर प्रदान गरेको बताए ।
एकात्मक र केन्द्रिकृत शासन प्रणालीको स्थानमा संघीयता प्राप्त हुनु संविधानको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले संघीयतालाई देश विकासको अनिवार्य तहका रूपमा अघि बढाउनुपर्ने बताए ।
उनका अनुसार संविधानले राज्यको शासकीय संरचनालाई नयाँ ढंगले स्थापित गर्दै नागरिकलाई इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मान प्राप्त गर्ने आधार दिएको छ । उनले संविधानले दिएका उपलब्धिका आधारमा देशको भविष्यको सुखद् यात्रा सुनिश्चित गर्न सकिने विश्वाससमेत व्यक्त गरे ।
