भारतद्वारा नेपाललाई थप ११ टन राहत सामग्री

विज्ञापन
ncell

भारतले भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धार अभियानका लागि थप ११ टन मानवीय सहायता सामग्री नेपाल पठाएको छ ।

काठमाडौं । भारतले भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धार अभियानका लागि थप ११ टन मानवीय सहायता सामग्री नेपाल पठाएको छ ।

औषधि, फोरेन्सिक सामग्री, पाल, हाइजिन किट, स्लिपिङ ब्यागलगायत आवश्यक सामग्रीसहितको उक्त सहायता शनिबार नेपाल आइपुगेको हो ।

भारतका विदेशमन्त्री एस.जयशङ्करले सामाजिक सञ्जाल एक्समार्फत नेपाललाई थप ११ टन राहत सामग्री पठाइएको जानकारी दिएका छन्। उनले भारतले नेपालको पुनर्लाभमा सहयोग जारी राख्ने उल्लेख गरेका छन् ।

यो बाढीपछि राहत तथा उद्धार सामग्री लिएर नेपाल आएको भारतीय वायुसेनाको नवौँ विशेष उडान हो । भारतले अगस्ट २६ देखि नेपालमा मानवीय सहायता पठाउन विशेष उडान सञ्चालन गर्दै आएको छ।

यसअघि शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री जयशङ्करसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा वाग्लेले रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यमा भारतले गरेको सहयोगप्रति धन्यवाद दिएका थिए ।

भेटमा नेपाल–भारतबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने तथा लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्य बढाउने विषयमा छलफल भएको थियो ।

भारतले यसअघि पनि बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि विभिन्न चरणमा सामग्री, उपकरण र विशेषज्ञ टोली पठाउँदै आएको छ । गत साता सुरुङ उद्धार तथा फोरेन्सिक सामग्रीसहितको राहत सामग्री नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको थियो ।