भारतीय निजी क्षेत्रलाई नेपालमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको आह्वान
उनले भारतीय उद्योगी, व्यवसायी तथा लगानीकर्तालाई नेपालमा उपलब्ध लगानीका सम्भावना पहिचान गर्दै आर्थिक सहकार्य विस्तार गर्न आग्रह गरेका छन् ।
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी र व्यवसाय विस्तारका लागि अहिले अनुकूल वातावरण बन्दै गएको बताएका छन् । उनले भारतीय उद्योगी, व्यवसायी तथा लगानीकर्तालाई नेपालमा उपलब्ध लगानीका सम्भावना पहिचान गर्दै आर्थिक सहकार्य विस्तार गर्न आग्रह गरेका छन् ।
नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको ‘बिजनेस एन्ड इन्भेस्टमेन्ट इन्टर्याक्सन प्रोग्राम’लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले भारतीय निजी क्षेत्रलाई नेपालको आर्थिक विकासमा थप सक्रिय साझेदार बन्न आह्वान गरे ।
कार्यक्रममा उनले नेपालमा उच्च सम्भावना भएका क्षेत्रका रूपमा डिजिटल अर्थतन्त्र, स्वच्छ ऊर्जा, कृषि तथा उच्च मूल्यका कृषि उत्पादन, पर्यटन र उत्पादनमूलक उद्योगलाई अघि सारे । नेपालमा पहिलेदेखि नै व्यवसाय गरिरहेका भारतीय कम्पनीलाई लगानी विस्तार गर्न र नयाँ लगानीकर्तालाई समेत नेपाली बजार तथा सम्भावित क्षेत्रको अध्ययन गर्न उनले आग्रह गरे ।
सरकारले लगानीको वातावरणलाई थप पारदर्शी, स्थिर र व्यवसायमैत्री बनाउन नीतिगत तथा संरचनागत सुधारलाई प्राथमिकता दिएको वाग्लेले बताए । बजेट, कर प्रणाली तथा लगानीसम्बन्धी नीतिमा सुधार गर्दै निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि हासिल गर्ने प्रयास भइरहेको उनको भनाइ थियो ।
नेपाललाई भारतीय व्यवसायीले केवल बजारका रूपमा नभई उत्पादन, मूल्य अभिवृद्धि र क्षेत्रीय आपूर्ति शृंखलासँग जोडिन सक्ने सम्भावना भएको साझेदारका रूपमा हेर्नुपर्नेमा उनले जोड दिए । ऊर्जा, पर्यटन, कृषि, उत्पादन र डिजिटल क्षेत्रमार्फत नेपाल–भारत आर्थिक सम्बन्धलाई अझ विस्तार गर्न सकिने उनले बताए ।
कार्यक्रममा सहभागी भारतीय उद्योगी तथा सीआईआईका प्रतिनिधिहरूले नेपालमा लगानीका अवसर, सरकारी प्रोत्साहन र व्यवसायिक वातावरणबारे अर्थमन्त्री वाग्लेसँग जानकारी लिएका थिए। वाग्लेको तीनदिने भारत भ्रमणका क्रममा लगानीसँगै व्यापार, ऊर्जा, सम्पर्क सञ्जाल र विपद्पछिको पुनर्निर्माणलगायतका विषयमा समेत छलफल भएको थियो ।
