धर्मनिरपेक्ष, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने कोशिस भइरहेको छः प्रचण्ड

विज्ञापन
ncell

उनले यतिबेला संविधान दिवस मनाउनुको अर्थ संविधानका मूलभूत सिद्धान्त, मूल्य-मान्यताको रक्षा गर्दै जनतालाई अझ अधिकारसम्पन्न तुल्याउनु रहेको जिकिर गरे ।

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले धर्मनिरपेक्ष, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि र जनताका मौलिक अधिकारहरूमाथि प्रहार गर्ने कोशिस भइरहेको आरोप लगाएका छन् । शनिबार संविधान दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले यतिबेला संविधान दिवस मनाउनुको अर्थ संविधानका मूलभूत सिद्धान्त, मूल्य-मान्यताको रक्षा गर्दै जनतालाई अझ अधिकारसम्पन्न तुल्याउनु रहेको जिकिर गरे । राष्ट्रिय स्वाधीनतामाथि विभिन्न देशी-विदेशी प्रतिक्रियावादीहरूबाट भइरहेका दबाव र हस्तक्षेपका विरुद्ध सम्पूर्ण देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकतावद्ध गर्ने सङ्कल्प गर्नु आफूहरुको उद्देश्य भएको उनको भनाइ छ ।

उनले नेपालको संविधान औपचारिक कानूनी दस्ताबेज मात्र नभइ युगान्तकारी परिवर्तन गर्ने ऐतिहासिक संकल्प भएको बताए । यो संविधानले नै पहिलो पटक नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न तुल्याएको दाबी गरे । संविधान जनताको अधिकारलाई संस्थागत गर्ने एउटा युगान्तकारी संविधान बन्न पुगेको उनको जिकिर छ ।

यो संविधान नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई पहिचान र अधिकार दिलाउने पहिलो संविधानको रूपमा पनि स्थापित भएको उनको दाबी छ । संयोजक दाहालले यो संविधान घोषणा भएपछि जेजति उपलब्धि प्राप्त भएका छन्, ती सबै यही युगान्तकारी परिवर्तनका र सङ्कल्पका परिणामका रूपमा रहेको बताए ।