विदेशी विनिमय सञ्चिति साढे ३९ खर्ब नजिक, डलर सञ्चिति पनि बढ्यो
नेपालको विदेशी विनिमय सञ्चिति २०८३ साउन मसान्तसम्म आइपुग्दा करिब साढे ३९ खर्ब रुपैयाँ पुगेको छ ।
काठमाडौं । नेपालको विदेशी विनिमय सञ्चिति २०८३ साउन मसान्तसम्म आइपुग्दा करिब साढे ३९ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक महिनामै विदेशी विनिमय सञ्चिति १.२ प्रतिशतले वृद्धि भएर ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको हो ।
२०८३ असार मसान्तमा नेपालको कुल विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २५ अर्ब ८४ करोड पुगेको छ । असार मसान्तमा २५ अर्ब ३१ करोड अमेरिकी डलर रहेको सञ्चिति साउनमा २.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १.३ प्रतिशतले बढेर ३५ खर्ब १७ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा केन्द्रीय बैंकसँग ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति थियो ।
त्यस्तै, नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति पनि ०.९ प्रतिशतले बढेको छ । साउन मसान्तसम्म यस्तो सञ्चिति ४ खर्ब २८ अर्ब २२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
साउन मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.८ प्रतिशत रहेको छ। विदेशी मुद्राको सञ्चिति बढेसँगै बाह्य क्षेत्रको भुक्तानी क्षमता पनि थप बलियो बनेको देखिएको छ ।
२१.८ महिनाको वस्तु आयात धान्न पुग्ने
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको आयातलाई आधार मान्दा हाल कायम विदेशी विनिमय सञ्चितिले २१.८ महिनाको वस्तु आयात धान्न पर्याप्त हुनेछ । वस्तु तथा सेवा दुवैको आयातलाई आधार मान्दा भने सञ्चितिले १८.८ महिनाको आयात धान्न पुग्ने देखिएको छ ।
साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात ५९.८ प्रतिशत पुगेको छ। त्यस्तै, कुल आयातसँगको अनुपात १५७ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ४४.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसरी हेर्दा चालु आर्थिक वर्षको सुरुवातमै विदेशी विनिमय सञ्चिति बढेको छ भने आयात धान्ने क्षमतासमेत उच्च स्तरमा रहेको देखिन्छ ।
