साउनमा महँगी ५.९६ प्रतिशत, घ्यू-तेलदेखि यातायातसम्मको मूल्य बढ्यो

विज्ञापन
ncell

पहाडी क्षेत्रमा ५.९५ प्रतिशत, हिमाली क्षेत्रमा ५.१० प्रतिशत र काठमाडौँ उपत्यकामा ४.८१ प्रतिशत मुद्रास्फीति रहेको छ ।

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मुलुकको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको साउनमा यस्तो मुद्रास्फीति १.६८ प्रतिशत मात्रै रहेको थियो । एक वर्षको अवधिमा मुद्रास्फीति ४.२८ प्रतिशत विन्दुले बढेको हो ।

साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यो समूहको मुद्रास्फीति २.२८ प्रतिशतले ऋणात्मक थियो । यस्तै, गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ३.९५ प्रतिशतभन्दा बढी हो ।

खाद्य तथा पेय पदार्थतर्फ घ्यू तथा तेलको मूल्य सबैभन्दा धेरै बढेको छ । साउनमा घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.६२ प्रतिशतले बढेको छ । फलफूलको मूल्य १५.३९ प्रतिशत, माछा तथा मासुको ८.६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र मरमसलाको ४.८० प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूहमा भने यातायाततर्फको मूल्यवृद्धि उच्च देखिएको छ । साउनमा यातायात उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १३.१७ प्रतिशतले बढेको छ । मदिराजन्य पेय पदार्थको मूल्य ७.२० प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ५.५२ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.९७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

क्षेत्रगत रूपमा हेर्दा ग्रामीण क्षेत्रमा मूल्यवृद्धिको दर सहरी क्षेत्रभन्दा बढी रहेको छ । साउनमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.१८ प्रतिशतले बढ्दा सहरी क्षेत्रमा ५.८८ प्रतिशतले वृद्धि भएको छ ।

प्रदेशगत रूपमा मधेश प्रदेशमा महँगी सबैभन्दा उच्च देखिएको छ । साउनमा मधेश प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.९४ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ४.६१ प्रतिशत रहेको छ ।

भौगोलिक क्षेत्रअनुसार तराईमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.६४ प्रतिशत रहेको छ । पहाडी क्षेत्रमा ५.९५ प्रतिशत, हिमाली क्षेत्रमा ५.१० प्रतिशत र काठमाडौँ उपत्यकामा ४.८१ प्रतिशत मुद्रास्फीति रहेको छ ।