साउनमै भित्रियो २ खर्ब १५ अर्ब विप्रेषण, बाह्य क्षेत्र थप बलियो

विज्ञापन
ncell

अर्थतन्त्रमा आन्तरिक गतिविधि सुस्त रहे पनि वैदेशिक रोजगारीबाट आउने आम्दानी भने बाह्य क्षेत्रलाई टिकाइराख्ने प्रमुख आधारका रूपमा देखिएको छ ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपाल भित्रिने विप्रेषण आप्रवाहले उच्च वृद्धि हासिल गरेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनमा मात्रै २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बराबरको विप्रेषण नेपाल भित्रिएको छ ।

यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ दशमलव २ प्रतिशत बढी हो । गत आर्थिक वर्षको साउनमा विप्रेषण आप्रवाह २९ दशमलव ९ प्रतिशतले बढेको थियो । यस वर्ष वृद्धिदर केही सुस्त भए पनि एक महिनामै २ खर्बभन्दा बढी विप्रेषण भित्रिएको हो । अमेरिकी डलरमा हेर्दा पनि विप्रेषण आप्रवाह बढेको छ। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १० दशमलव २ प्रतिशतले वृद्धि भई १ अर्ब ४० करोड डलर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले बढेको थियो ।

साउनमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४२ हजार ६ सय ९३ रहेको छ। त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २७ हजार ७ सय ४७ पुगेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको निरन्तरता र श्रम स्वीकृतिको अवस्थाले विप्रेषण आप्रवाहलाई समेत टेवा दिएको देखिन्छ ।

विप्रेषणसँगै खुद द्वितीय आय पनि बढेको छ । समीक्षा अवधिमा खुद द्वितीय आय २ खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। वैदेशिक रोजगारीबाट आउने आम्दानीमा भएको वृद्धिले नेपालको बाह्य क्षेत्रको स्थायित्व कायम गर्न तथा विदेशी मुद्रा सञ्चितिमा दबाब कम गर्न सहयोग पुग्ने देखिन्छ ।

साउनमा विप्रेषण र खुद द्वितीय आयको बलियो प्रवाहले देशको चालु खाता तथा शोधनान्तर स्थितिलाई समेत सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

अर्थतन्त्रमा आन्तरिक गतिविधि सुस्त रहे पनि वैदेशिक रोजगारीबाट आउने आम्दानी भने बाह्य क्षेत्रलाई टिकाइराख्ने प्रमुख आधारका रूपमा देखिएको छ ।