मुक्तिनाथ विकास बैंकले ५.७८ प्रतिशत मात्रै ब्याजमा घरकर्जा दिने
मुक्तिनाथ विकास बैंकले ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ तथा नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार र छठ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ तथा नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार र छठ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले आधार दरमा ०.२५ प्रतिशत मात्रको विशेष ब्याजदरमा घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा प्राप्त गर्न सकिनेछ । बैंकको आधार दर ५.५३ प्रतिशत छ । बैंकका अनुसार कात्तिक महिनासम्म ग्राहकले ५.७८ प्रतिशतमै घरकर्जा पाउनेछन् ।
यस्तै घरजग्गाको मूल्याङ्कनको अधिकतम ७० प्रतिशतसम्म तथा पहिलो घर कर्जाको हकमा अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । चाडपर्वको उत्साहसँगै आफ्नै घरको सपना साकार गर्न चाहने ग्राहकहरूका लागि यो योजना सहज र आकर्षक वित्तीय अवसरका रूपमा ल्याइएको बैंकले जनाएको छ ।
विशेष घर कर्जा योजना २०८३ साल कार्तिक मसान्तसम्म लागू हुने बैंकले जनाएको छ । उक्त अवधिपश्चात बैंकको प्रचलित ब्याजदर तथा सम्बन्धित कर्जा शर्तहरू लागू हुनेछन् ।
यस योजनाले घर निर्माण वा खरिदको योजना बनाइरहेका ग्राहकलाई प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकले जनाएको छ ।
बैंकले यो सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने छ । ग्राहकहरूले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी योजनासम्बन्धी थप जानकारी तथा कर्जा प्रक्रियाबारे जानकारी लिन सक्ने बैंकको भनाइ छ । बैंकले अटो लोन तथा कृषि एवं एसएमई व्यवसाय कर्जाका विशेष योजनाहरूसमेत सञ्चालनमा ल्याएको जनाएको छ ।
