आरबीबीका दुई म्युचुअल फन्डको लाभांश घोषणा, कुनको कति ?
योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफा तथा सञ्चित कोषबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
काठमाडौं । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि नगद लाभांश घोषणा गरेका छन् । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित आरबीबी म्युचुअल फन्ड–१ (आरएमएफ–१) र आरबीबी म्युचुअल फन्ड–२ (आरएमएफ–२) ले इकाइधनीलाई क्रमशः २.७७ प्रतिशत र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।
योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफा तथा सञ्चित कोषबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांशअनुसार आरएमएफ–१ का इकाइधनीले करसहित २.७७ प्रतिशत नगद लाभांश पाउनेछन् भने आरएमएफ–२ का इकाइधनीले करसहित ६ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् । यसअनुसार आरएमएफ–२ ले आरएमएफ–१ को तुलनामा दोब्बरभन्दा बढी लाभांश घोषणा गरेको छ ।
असोज १२ गते बुक क्लोज
लाभांश वितरण प्रयोजनका लागि दुवै योजनाले असोज १२ गते सोमबार एक दिनका लागि इकाइधनी दर्ता किताब (बुक क्लोज) गर्ने भएका छन् । बुक क्लोज हुनुअघिको अन्तिम कारोबार दिनसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम भएका इकाइधनीले मात्र घोषित नगद लाभांश प्राप्त गर्नेछन् । निर्धारित समयभित्र रीतपूर्वक नामसारी भई आएका इकाइधनीसमेत नगद लाभांश प्राप्त गर्न योग्य हुने योजना व्यवस्थापकले जनाएको छ ।
धितो राखेका इकाइधनीले पत्र पेस गर्नुपर्ने
आफ्नो इकाइ बैंक तथा वित्तीय संस्थामा धितो राखेका इकाइधनीले नगद लाभांश प्राप्त गर्न सम्बन्धित संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ वा ‘रिलिज लेटर’ अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । आवश्यक पत्र पेस गरेपछि मात्र घोषित नगद लाभांश इकाइधनीको बैंक खातामा जम्मा गरिने आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ ।
आरबीबी म्युचुअल फन्डका दुवै योजना बन्दमुखी प्रकृतिका हुन् । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्द्धक तथा आरबीबी मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक एवं डिपोजिटरीका रूपमा रहेका छन् ।
