राहत कोषमार्फत १ हजार सहयोग दिनेले जिते १ लाख उपहार
आन्तरिक राजस्व विभागले आज सार्वजनिक गरेका भदौ महिनाका ३३ जना विजेतामध्ये कोषमा उक्त रकम प्रदान सहयोग गर्ने एक जना परेको हो ।
काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौमा प्रधानमन्त्री दैवी प्रकोप कोषमा एक हजार सहयोग गर्ने एक जना पनि एक लाखको उपहार विजेतामा परेका छन् । आन्तरिक राजस्व विभागले आज सार्वजनिक गरेका भदौ महिनाका ३३ जना विजेतामध्ये कोषमा उक्त रकम प्रदान सहयोग गर्ने एक जना परेको हो ।
विभागका अनुसार भदौमा हरेक दिन एक जनाका दरले ३१ जना र दुई जना बम्पर गरी ३३ जना विजेता घोषणा गरिएको हो । भोटेकोशी बाढीका कारण भदौ १६ गतेका लागि निर्धारित उपहार घोषणा कार्यक्रम स्थगन भएको थियो । भदौ महिनाका ३१ विजेताले जनही एक लाख तथा दुई जना बम्पर विजेताले जनही नगद १० लाख उपहार प्रदान गरिने छ ।
सरकारले कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने तथा सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिने प्रवृत्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
