‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्: सांसद पोखरेल
उनले भदौ २३ र २४ गते भएका घटनाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारहरू गम्भीर प्रकृतिका रहेको उल्लेख गर्दै ती विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताए ।
काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको भनी सार्वजनिक भएको समाचारबारे सरकारसँग जवाफ माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पोखरेलले केही दिनअघि अमेरिकी सञ्चारमाध्यम ‘द ग्रेजोन’ले रास्वपाको उदयमा अमेरिकी लगानी रहेको दाबी गर्दै प्रकाशित गरेको रिपोर्टबारे सरकार र नाम जोडिएका नेताहरूले जवाफ दिनुपर्ने बताएका हुन् । उनले भदौ २३ र २४ गते भएका घटनाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारहरू गम्भीर प्रकृतिका रहेको उल्लेख गर्दै ती विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताए ।
पोखरेलले भने, सिंहदरबारसहित सरकारी, निजी, व्यावसायिक तथा राजनीतिक दलका कार्यालयमा आगजनी गर्दा तालिमप्राप्त समूहको संलग्नता र रासायनिक सोडियम प्रयोग भएको विषय यसअघि नै न्युयोर्क टाइम्सले समाचार प्रकाशित गरिसकेको छ । भदौ २३ र २४ का घटनाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका विषय गम्भीर प्रकृतिका भएकाले अमेरिका अनलाइन पत्रिका द ग्रेजोनले प्रकाशित गरेका तथ्यहरू उपर कसले जवाफ दिने हो ?’
उनले प्रधानमन्त्री बालेन्द्रसहित रास्वपाका केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी ‘द ग्रेजोन’ले गरेको भन्दै त्यसबारे जवाफ आवश्यक रहेको बताए ।
‘प्रधानमन्त्री बालेन्द्र शाहसहित राष्ट्रिय स्वतन्त्र पार्टीका केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी द ग्रेजोनले गरेको छ । सभामुख महोदय, यसको जवाफ चाहिन्छ । प्रश्नबाट कोही पनि भाग्न पाउँदैन । सरकार र नाम जोडिएकाहरूले जवाफ दिनुपर्छ,’ उनले भने ।सांसद पोखरेलले उक्त विषयमा सरकार तथा समाचारमा नाम जोडिएका व्यक्तिहरूले स्पष्ट जवाफ दिनुपर्नेमा जोड दिए।
