कृष्णभीरमा बाटो खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, पुरानै मूल्यमा पाइने

विज्ञापन
ncell

कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध भएपछि बढाइएको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । मुख्य राजमार्ग बन्द हुँदा व्यवसायीहरूले वैकल्पिक बाटो प्रयोग गरी ग्यास आयात गर्दा ढुवानी भाडा बढेको भन्दै ग्यासको मूल्य वृद्धि गरेका थिए ।

काठमाडौं । कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध भएपछि बढाइएको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । मुख्य राजमार्ग बन्द हुँदा व्यवसायीहरूले वैकल्पिक बाटो प्रयोग गरी ग्यास आयात गर्दा ढुवानी भाडा बढेको भन्दै ग्यासको मूल्य वृद्धि गरेका थिए । कृष्णभीरमा सडक पुनः सञ्चालनमा आएसँगै ग्यासको मूल्य पनि पुरानै अवस्थामा फर्किएको हो ।

नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार नेपाल आयल निगमले काठमाडौंका लागि पिएडओ (प्रोडक्ट डेलिभरी अर्डर) जारी गरेसँगै ग्यासको मूल्य घटेको हो ।

‘यसअघि मुख्य बाटो बन्द भएर वैकल्पिक बाटोबाट ढुवानी गर्दा भाडा बढेकाले ग्यासको मूल्य वृद्धि भएको थियो,’ घिमिरेले भने, ‘अहिले कृष्णभीरको बाटो खुलेर ग्यासका बुलेटहरू आउन थालेपछि मूल्य पुनः घटेको छ ।’

यसअघि लामो तथा वैकल्पिक बाटो प्रयोग गरी ग्यास ढुवानी गर्दा प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसासम्म ढुवानी भाडा समायोजन गरी मूल्य वृद्धि गरिएको थियो । अब भने ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम भएको छ ।

देशलाई तीन क्षेत्रमा विभाजन गरी एलपी ग्यास वितरण हुँदै आएकोमा हालसम्म तराई क्षेत्रको पिएडओबाट मात्र काम भइरहेको थियो । अब काठमाडौं र धादिङका लागि समेत पिएडओ जारी भएको छ ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले काठमाडौं उपत्यकाका लागि ग्यास ल्याउन पिएडओ जारी भइसकेको जानकारी दिए । पिएडओ जारी भएसँगै उपभोक्ताले अब पुरानै मूल्यमा ग्यास खरिद गर्न पाउनेछन् ।