विपद् व्यवस्थापनमा एआईको प्रयोगदेखि ड्रोन उत्पादनसम्मको तयारी गर्दैछौँः महावीर पुन
विपद् उद्धार तथा व्यवस्थापनमा ड्रोन र रोबोटिक्सको उपयोगिता देखिएकाले नेपालमै ड्रोन उत्पादन गर्ने सम्भावनाबारे मन्त्रालयले काम अघि बढाएको उनले जानकारी दिए ।
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद्का समयमा उद्धार तथा राहत व्यवस्थापनमा एआईको प्रयोगदेखि ड्रोन उत्पादनसम्मको तयारी गरिरहेको बताएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले यस्तो जानकारी दिएका हुन् ।
उनले कृत्रिम बुद्धिमत्ता (एआई) र भू-उपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणाली विकास गर्ने तयारी भइरहेको जानकारी दिए । विपद्सम्बन्धी अवस्थाको वास्तविक समयमै निगरानी र पूर्वानुमान गर्न सकिने ‘सिचुएसन रुम’ निर्माण गर्ने विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ । साथै उजले नेपालमै भारी क्षमताका ड्रोन उत्पादन गर्ने लक्ष्य राखिएको बताए ।
विपद् उद्धार तथा व्यवस्थापनमा ड्रोन र रोबोटिक्सको उपयोगिता देखिएकाले नेपालमै ड्रोन उत्पादन गर्ने सम्भावनाबारे मन्त्रालयले काम अघि बढाएको उनले जानकारी दिए । उनकाअनुसार हाल चीन र संयुक्त अरब इमिरेट्स (यूएई) बाट ८० देखि १०० किलोग्रामसम्म सामग्री बोक्न सक्ने ड्रोन सहयोगका रूपमा प्राप्त भएका छन् । यस्ता ड्रोन खरिद गर्दा महँगो पर्ने भएकाले भविष्यमा नेपालमै उत्पादन गर्न सकिने सम्भावनाबारे मन्त्रालयले काम अघि बढाउने उनले बताए ।
मन्त्री पुनले हिमताल विस्फोट, पहिरो तथा भूकम्प मापनलगायतका विषयमा अनुसन्धान गरी त्यसलाई व्यावहारिक प्रयोगमा ल्याउने गरी तयारी भइरहेको पनि जानकारी दिए ।
मन्त्रालयले वैज्ञानिक प्रयोगशाला तथा मापन केन्द्रहरूको मर्मत, सम्भार र पुनःस्थापनालाई प्राथमिकता राखेको उनले बताए । मन्त्री पुनले हाल मन्त्रालयले रसुवा वाढी पीडितका लागी विदेशी सरकारबाट प्राप्त राहत सामग्री बुझ्ने तथा व्यवस्थापन गर्ने काम गरिरहेको पनि जानकारी दिए ।
उनकाअनुसार राहत सामग्री बोकेका विमान दैनिक दुई-तीन ट्रिपसम्म नेपाल आइरहेका छन् ।
मन्त्रालयका राष्ट्रसेवक कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तलबबाट योगदान गरिरहेको पनि उनले बताए । श्रेणीविहीन कर्मचारीबाट दुई दिन, राजपत्र अनङ्कित वा सोसरहका कर्मचारीबाट पाँच दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सोसरहका कर्मचारीबाट सात दिन तथा प्रथम र विशिष्ट श्रेणीका कर्मचारीबाट १० दिन बराबरको तलब योगदान गर्ने निर्णय भएको उनको भनाइ छ । उनले रसुवा बाढीका क्रममा मृत्यु भएकाको पहिचानका लागि राष्ट्रिय आविष्कार केन्द्र ९नास्ट० र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षण भइरहेको पनि जानकारी दिए ।
उनका अनुसार नास्टमा दैनिक करिव ४० देखि ५० वटा नमूना परीक्षण भइरहेको छ । नेपाली तथा चिनियाँ टोली संयुक्त रूपमा काम गरिरहेको उहाँले बताए । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा हालसम्म मृत शरीरका १ हजार ५६२ वटा डीएनए परीक्षण नमूना प्राप्त भएको उनले जानकारी दिए । त्यस्तै, बुटवलमा पनि सम्पर्कविहीन भएका व्यक्तिका आफन्तबाट डीएनए नमुना संकलन तथा परीक्षणका लागि ९८ जनाको प्रक्रिया अघि बढाइएको उनले बताए । परीक्षणमा भारतीय विज्ञसहित चिनियाँ प्राविधिक टोलीसमेत संलग्न रहेको उनको भनाइ छ । नास्टले साना सौर्य बत्ती एसेम्बल गरी आवश्यक स्थानमा पठाउने कामसमेत गरिरहेको मन्त्री पुनले जानकारी दिए ।
