जलवायु क्षतिको दाबी गर्न ‘वैज्ञानिक तथ्यांक’ बलियो बनाउन जरुरीः सांसद रेग्मी
नेपालमा विभिन्न सरकारी निकाय, विश्वविद्यालय, अनुसन्धान संस्था र अन्तर्राष्ट्रिय संस्थाले गरेका अध्ययन तथा अनुसन्धान पर्याप्त भएपनि ती छरिएर रहेका कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको एउटै आधिकारिक र विश्वसनीय तथ्यांक प्रस्तुत गर्न कठिनाइ भइरहेको बताए ।
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.धनञ्जय रेग्मीले जलवायु परिवर्तनका कारण नेपालमा भइरहेको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायसँग बलियो रूपमा प्रस्तुत हुन वैज्ञानिक तथ्यांकलाई एकीकृत र प्रमाणित गर्नुपर्ने बताएका हुन् । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै रेग्मीले यस्तो बताएका हुन् ।
नेपालमा विभिन्न सरकारी निकाय, विश्वविद्यालय, अनुसन्धान संस्था र अन्तर्राष्ट्रिय संस्थाले गरेका अध्ययन तथा अनुसन्धान पर्याप्त भएपनि ती छरिएर रहेका कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको एउटै आधिकारिक र विश्वसनीय तथ्यांक प्रस्तुत गर्न कठिनाइ भइरहेको बताए । उनले संयुक्त राष्ट्र संघको महासभा तथा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप) मा नेपालले जलवायु परिवर्तनको प्रभाव र ‘लस एण्ड ड्यामेज’ का विषय उठाउँदा राजनीतिक नाराभन्दा वैज्ञानिक प्रमाणलाई आधार बनाउनुपर्नेमा जोड दिए ।
रेग्मीले नेपालमा डाटाको अभावभन्दा पनि भएका तथ्यांक र अनुसन्धानलाई एकीकृत गर्ने संयन्त्रको अभाव प्रमुख समस्या रहेको बताए । उनले सरकारले एउटा वैज्ञानिक संयन्त्र बनाएर विभिन्न संस्थाका अध्ययनलाई समीक्षा र वर्गीकरण गर्नुपर्ने प्रस्ताव गरे । रेग्मीकाअनुसार वर्षाको ढाँचा र कुनै निश्चित विपद् घटनामा वर्षाको प्रत्यक्ष भुमिका निर्धारण गर्ने विषय भने तुलनात्मक रूपमा जटिल छ । त्यसैले सबै विपद्लाई एउटै कारणसँग जोड्नुभन्दा प्रत्येक घटनाको वैज्ञानिक विश्लेषण आवश्यक रहेको उनले बताए ।
भोटेकोशीमा भएको विनाशकारी घटनालाई नेपालका लागि गम्भीर चेतावनीका रूपमा लिनुपर्ने रेग्मीको भनाइ छ । उनले घटनाको क्षतिको यकिन विवरण निकाल्न घटनाअघिको र घटनापछिको स्याटेलाइट तस्बिर प्रयोग गर्न सकिने बताए । त्यसबाट प्रभावित क्षेत्रमा कति घर, कृषि भूमि र अन्य संरचना थिए तथा घटनापछि कति क्षति भयो भन्ने तथ्यांक निकाल्न सकिने उनको भनाइ छ । भूमि उपयोगसम्बन्धी सरकारी तथ्यांकलाई समेत विपद् क्षतिको अध्ययनमा प्रयोग गर्न सकिने उनले बताए।
