सेयर कारोबारको पुँजीगत लाभकर घटाउने सरकारको निर्णय

विज्ञापन
ncell

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दीर्घकालीन तथा अल्पकालीन दुवै लगानीकर्ताका लागि सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर घटाउने निर्णय गरेको हो ।

काठमाडौं ।  सरकारले सेयर कारोबारबाट हुने नाफामा लाग्ने पुँजीगत लाभकर घटाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दीर्घकालीन तथा अल्पकालीन दुवै लगानीकर्ताका लागि सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर घटाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार अब ३६५ दिनभन्दा बढी सेयर होल्ड गर्ने लगानीकर्ताले सेयर बिक्रीबाट भएको लाभमा ३.७५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ । यसअघि यस्तो लाभमा ७.५ प्रतिशत कर लाग्दै आएको थियो ।

त्यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधि सेयर होल्ड गर्ने लगानीकर्ताको लाभमा ५ प्रतिशत अग्रिम कर कायम गर्ने निर्णय भएको छ ।

यसअघि अल्पकालीन लगानीकर्ताको लाभमा १० प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था थियो । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट तथा आर्थिक विधेयकमार्फत सेयर कारोबारको पुँजीगत लाभकर बढाएको थियो । उक्त व्यवस्थाअनुसार ३६५ दिन वा सोभन्दा कम अवधि सेयर होल्ड गर्नेलाई अल्पकालीन र ३६५ दिनभन्दा बढी अवधि होल्ड गर्नेलाई दीर्घकालीन लगानीकर्ता मानेर क्रमशः १० प्रतिशत र ७.५ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको थियो ।

मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै दीर्घकालीन लगानीकर्ताको कर ७.५ प्रतिशतबाट ३.७५ प्रतिशतमा झरेको छ भने अल्पकालीन लगानीकर्ताको कर १० प्रतिशतबाट ५ प्रतिशतमा आएको छ । यसबाट सेयर बिक्री गर्दा लगानीकर्ताले तिर्नुपर्ने करको भार घट्नेछ ।

पुँजी बजारमा कारोबार लागत तथा करको भारलाई लिएर लगानीकर्ताले लामो समयदेखि चासो व्यक्त गर्दै आएका बेला सरकारले पुँजीगत लाभकर घटाउने निर्णय गरेको हो ।