कृष्णभिर सडक बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन हुने

विज्ञापन
ncell

सडक भासिएपछि पूर्णरुपमा अवरुद्ध बनेको सो राजमार्ग यही भदौ १८ गतेदेखि नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएको हो।

चितवन । कृष्णभिरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी यातायात सेवा सञ्चालन गरिने भएको छ । त्रिशूली बाढीबाट सडकको तल्लो भाग बगाएपछि त्यस ठाउँमा उक्त राजमार्ग यही भदौ १४ गते यातायात सेवा सञ्चालन गर्न नमिल्ने गरी भासिएको थियो ।

सडक भासिएपछि पूर्णरुपमा अवरुद्ध बनेको सो राजमार्ग यही भदौ १८ गतेदेखि नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएको हो। नागढुंगा-मुग्लिन सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्ममा सबै काम सकिने छ।

ग्राबेल र नालीको काम भइरहेको छ। उनले भने,‘साँझसम्ममा हामी सबै काम सक्छौँ । स्थानीय बेनिघाट रोराङ गाउँपालिकाले सडकमा ‘फ्लडलाइट’ जडान गर्दैछ। यससँगै रातिमा सवारी सञ्चालन गर्न सहज हुनेछ ।’

कृष्णभिरमा सवारी सञ्चालन भएसँगै नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रोकिएका सवारीसाधन पनि गन्तव्यतर्फ छुट्ने छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभिरमा सवारी सञ्चालन हुने भएमा तत्कालका लागि तुइन खोलामा भइरहेको पहिरो रोकथामको काम रोकिने बताए ।