सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा असोज २२ गते, १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव
बैंकले हाल कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गर्ने तयारी गरेको छ ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले असोज २२ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले हाल कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गर्ने तयारी गरेको छ । यसअनुसार बैंकले कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
साधारण सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावसमेत पारित गर्नेछ । साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनसम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
त्यस्तै, संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक निर्वाचित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि साधारण सभामा प्रस्तुत हुनेछन् ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ८ गतेदेखि असोज २२ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । यसअनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
