दशैँको मुखमा नाका बन्द हुँदा महँगी बढ्ने आशंका, तातोपानी नाका तत्काल सञ्चालन गर्न माग

विज्ञापन
ncell

उनले तातोपानी नाका लामो समयदेखि बन्द हुँदा दशैँको मुखमा आयात-निर्यात प्रभावित हुनुका साथै बजारमा वस्तुको अभाव र महँगी बढ्ने अवस्था सिर्जना भएको बताए ।

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेत युवराज दुलालले तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंलगबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण केरुङ नाका अवरुद्ध भएको उल्लेख गर्दै वैकल्पिक नाकाको रुपमा रहेको तातोपानी नाका खुलाउन कुटनीतिक पहल गर्न सरकारसँग माग गरे । उनले तातोपानी नाका लामो समयदेखि बन्द हुँदा दशैँको मुखमा आयात-निर्यात प्रभावित हुनुका साथै बजारमा वस्तुको अभाव र महँगी बढ्ने अवस्था सिर्जना भएको बताए ।

उनले तातोपानी नाका खुलाउन सरकारले प्रभावकारी कुटनीतिक पहल गर्न नसकेको आरोप पनि लगाए । उनले भोटेकोशी नदीको बाढीले सामान बगाउँदा व्यवसायीले ठूलो क्षति व्यहोरेका छन् भने नाका बन्द हुँदा चाडपर्वका बेला अत्यावश्यक वस्तुको आपूर्तिमा समेत समस्या आउन सक्ने देखिएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले महँगीका कारण गरिब तथा विपन्न परिवारको दैनिक जीवन प्रभावित भइरहेको भइरहेको पनि सरकार त्यसतर्फ गम्भीर हुन नसकेको उनको आरोप छ । उनले मुस्ताङको कोरला नाकामा समेत व्यवसायीले समस्या भोगिरहेको बताए । चिनियाँ पक्षले मुस्ताङबाहेकका जिल्लाका चालकलाई प्रवेश अनुमति नदिँदा ठूला सवारी सञ्चालनका लागि पर्याप्त चालक जनशक्ति अभाव भएको उनको भनाइ छ ।