आइतबारको बिदा हटाएर शनिबार मात्रै सार्वजनिक बिदा दिन राप्रपा सांसद भाटको माग
‘यो आइतबारको बिदा कसैलाई पनि चाहिएको छैन। शैक्षिक संस्थादेखि सबै क्षेत्रमा यसले नकारात्मक असर पारिरहेको छ,’ उनले भने, ‘त्यसकारण सरकारले आइतबारको बिदा कटौती गरेर पहिलेकै शनिबारको बिदा कायम गरोस्।’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिइँदै आएको सार्वजनिक बिदा हटाएर सातामा एक दिन शनिबार मात्रै सार्वजनिक बिदा दिने पुरानै व्यवस्था कायम गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद भाटले सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थासहित विभिन्न क्षेत्रमा नकारात्मक असर परेको बताए ।
उनले आइतबारको बिदा आवश्यक नरहेको भन्दै त्यसलाई खारेज गरी शनिबार मात्रै बिदा दिने व्यवस्था पुनः लागू गर्न सरकारको ध्यानाकर्षण गराए ।
‘यो आइतबारको बिदा कसैलाई पनि चाहिएको छैन। शैक्षिक संस्थादेखि सबै क्षेत्रमा यसले नकारात्मक असर पारिरहेको छ,’ उनले भने, ‘त्यसकारण सरकारले आइतबारको बिदा कटौती गरेर पहिलेकै शनिबारको बिदा कायम गरोस्।’ सांसद भाटले विपद्को समयमा सहयोग गर्ने मुस्लिम समुदायलगायत सबैलाई धन्यवादसमेत व्यक्त गरे ।
सरकारले मध्यपश्चिममा भएको तनावका कारण पेट्रोलियम पदार्थको आयात प्रभावित भएपछि इन्धनको खपत घटाउने उद्देश्यले २०८२ चैत २३ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
