मन्त्री नआएपछि शिक्षा समितिको बैठक स्थगित

विज्ञापन
ncell

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट भएका तथा भइरहेका कामबारे छलफल गर्न बैठक बोलाइएको थियो ।

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । सिंहदरबारमा मंगलबार (भदौ ३०) बिहान ८ बजेका लागि बैठक बोलाइएको थियाे ।

सांसदहरू उपस्थित भए पनि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल उपस्थित नभएपछि बैठक स्थगित गरिएको हाे ।

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट भएका तथा भइरहेका कामबारे छलफल गर्न बैठक बोलाइएको थियो । 

त्यस्तै, मन्त्रालयका काम–कारबाहीका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी दिनमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिका विषयमा समेत छलफल गर्ने कार्यसूची थियो । बैठकका लागि शिक्षा तथा खेलकुदमन्त्री पोखरेलसँगै मन्त्रालयका सचिवलाई समेत बोलाइएको थियो । 

समितिका सदस्यहरू बैठकमा उपस्थित भइसकेपछि मन्त्री पोखरेलले बैठक सुरु भइसकेको अवस्थामा आफू अस्वस्थ रहेको जानकारी गराएका थिए । मन्त्री बैठकमा उपस्थित हुन नसकेपछि समिति सभापति डा. ओजश्वी शेरचनले बैठक स्थगित भएको घोषणा गरिन् ।

बाढी प्रभावित क्षेत्रमा शिक्षा क्षेत्रका संरचना तथा शैक्षिक गतिविधिमा परेको असर, विद्यार्थी र शिक्षकको अवस्था तथा राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि मन्त्रालयले गरिरहेका कामबारे समितिले मन्त्री र सचिवसँग जानकारी लिन बैठक बोलाएको थियो ।