एटीएमबाट अब १०० रुपैयाँका नोट पनि झिक्न पाइने
सर्वसाधारणको सहजता तथा नजिकिँदै गरेको चाडबाडमा बैंकहरूमा हुने भीडभाड कम गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो ।
काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोट पनि झिक्न पाइने भएको छ । सर्वसाधारणको सहजता तथा नजिकिँदै गरेको चाडबाडमा बैंकहरूमा हुने भीडभाड कम गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र लेख्दै बैंकहरूलाई एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन भनेको छ ।
हाल बैंक तथा वित्तीय संस्थाका एटीएमबाट मुख्यतः ५ सय र १ हजार रुपैयाँ दरका नोट मात्र वितरण हुँदै आएका छन्। जसका कारण साना दरका नोट आवश्यक पर्ने ग्राहकहरू बैंकको काउन्टरमै पुग्नुपर्ने बाध्यता छ। विशेषगरी दसैँका बेला साना दरका नोट सटही गर्न बैंकहरूमा सर्वसाधारणको ठूलो भीड लाग्ने गर्छ ।
केही बैंकसँग एटीएमको प्राविधिक तयारीबारे बुझ्दा १०० रुपैयाँ दरका नोट वितरण गर्न सम्भव देखिएको राष्ट्र बैंकले जनाएको छ । अब बैंकहरूले आवश्यक प्राविधिक व्यवस्था मिलाएर एटीएमबाटै १०० रुपैयाँका नोट उपलब्ध गराउन सक्नेछन् ।
