महानगरले ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउने
वर्षाको पानी सङ्कलन तथा जमिनमा पुनर्भरण (रिचार्ज) गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी हुन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्युनिकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ । वर्षाको पानी सङ्कलन तथा जमिनमा पुनर्भरण (रिचार्ज) गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी हुन् । आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सवमा बोल्दै डंगोलले काठमाडौंमा थोरै पानी पर्दासमेत बाढी आउने अवस्था सिर्जना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन् ।
उनकाअनुसार सहरी बाढीको समस्या समाधानका लागि अध्ययनसमेत भइरहेको छ ।
डंगोलले विगतमा शहरी क्षेत्रमा गरिएका विकास तथा संरचना निर्माणका कारण सिर्जित समस्या सुधार गर्दै जानुपर्ने बताइन् । करिव तीन दशकअघि सुरु भएका शहरी समस्या अहिले ‘अर्बन फ्ल्यास फ्लड’का रूपमा देखिन थालेको उनको भनाइ छ । काठमाडौंमा वर्षाको पानीलाई सकेसम्म जमिनमै पुनर्भरण गर्ने उद्देश्यले रेन वाटर हार्भेस्टिङ तथा रिचार्जका कार्यक्रम सञ्चालन गरिने उनले बताइन् ।
अहिले गर्न सकिने कामबाटै समाधानको सुरुवात गर्नुपर्ने भन्दै उनले ‘रिचार्ज काठमाडौँ’ अभियान अघि बढाउन लागिएको जानकारी दिइन् । डंगोलले शहरी बाढीको समस्या समाधानका लागि दीर्घकालीन उपायबारे अध्ययन भइरहेको र अध्ययनका आधारमा थप कार्यक्रम अघि बढाइने बताइन् । पछिल्लो समय वर्षाको पानी परेपछि काठमाडौंमा बाढीको जोखिम बढ्दै गएको भन्दै उनले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।
