भारतद्वारा नेपाललाई तीन वटा पुल सहयोग

विज्ञापन
ncell

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारत सरकारले उपलब्ध गराएका तीन वटा मोड्युलर पुल नेपाललाई हस्तान्तरण गराएको छ ।

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारत सरकारले उपलब्ध गराएका तीन वटा मोड्युलर पुल नेपाललाई हस्तान्तरण गराएको छ । ७०-७० मिटर लम्बाईका तीन वटा एकतर्फी मोड्युलर पुल शनिबार सडक डिभिजन कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले नेपाललाई हस्तान्तरण गरेका हुन् । 

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सडक तथा पुलमा ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोगस्वरूप यी पुल उपलब्ध गराएको हो ।

पुल हस्तान्तरण कार्यक्रममा बोल्दै प्रथम सचिव सिंहले नेपालका लागि बाढीबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनर्निर्माणमा भारतले आगामी दिनमा पनि थप प्रि-फ्याब्रिकेटेड पुल उपलब्ध गराउने बताए । पहिलो पुल समयमै सञ्चालनमा आउँदा प्रभावित क्षेत्रका नागरिकलाई आवतजावत तथा सामान ढुवानीमा सहज हुने उनको भनाइ छ ।

उनले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्ध तथा साझेदारीको प्रतीकका रूपमा समेत यी सहयोगलाई लिन सकिने बताए । मकवानपुर क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमले विपद्का बेला छिमेकीको सहयोग महत्वपूर्ण हुने भन्दै भारत सरकारप्रति धन्यवाद व्यक्त गरे ।

उनले बाढीबाट रसुवा-नुवाकोट क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्री पुर्‍याउनसमेत समस्या भइरहेको अवस्थामा ७० मिटर लामो पुलले आवागमन सहज बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताए । बाढीका कारण देशभर ३५ भन्दा बढी पुल क्षतिग्रस्त भएको भन्दै सांसद गौतमले थप पुलका लागि नेपाल सरकारले भारत सरकारसँग आग्रह गरिएको जानकारी दिए । 

तत्काल आवश्यक रहेका क्षेत्रमा थप पुल उपलब्ध गराउन सरकारस्तरबाट द्विपक्षीय छलफल भइरहेको समेत उनले बताए । विपद्का बेला भारतले नेपाललाई गर्दै आएको सहयोगको स्मरण गर्दै गौतमले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताए । 

सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख किरण कार्कीको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामा, सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधव प्रसाद काफ्ले लगायतको उपस्थिति थियो ।