सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता

विज्ञापन
ncell

छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताए ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र मुलुकका शीर्ष उद्योगी(व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विस्तृत छलफल भएको छ । आधा घण्टाका लागि तय गरिएको भेटवार्ता झण्डै दुई घण्टा चलेको थियो ।

प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको उक्त छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्वराज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान सहभागी थिए । भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गरेकी थिइन् । 

‘कानुन बाधक भए नयाँ ल्याउँछौँ, ढुक्क भएर लगानी गर्नुस्’: चन्द्र ढकाल

छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताए । भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्द्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाएको ढकालले जानकारी दिए । ढकालका अनुसार प्रधानमन्त्री शाहले घरेलु पुँजीको परिचालन र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) दुवैलाई सँगसँगै अघि बढाउने आफ्नो विचार प्रस्तुत गरेका थिए । विशेषगरी पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने, आन्तरिक रोजगारीका अवसर सिर्जना गर्ने र राज्यको राजस्वको दायरा फराकिलो बनाउने विषयमा प्रधानमन्त्रीको विशेष चासो थियो।

ढकालले थपे , "हामीले मुख्यतया लगानीकर्ताको मनोबल र विश्वास बढाउनुपर्ने, सरकारी निकायहरूमा हुने प्रक्रियागत झन्झट हटाउनुपर्ने र परियोजना स्वीकृतिका लागि वर्षौँ कुर्नुपर्ने अवस्था अन्त्य गरी समयमै निर्णय हुनुपर्ने माग राख्यौँ । प्रधानमन्त्रीले सरकारको तर्फबाट लगानीका लागि आवश्यक सबै प्रक्रियागत सहजीकरण गरिदिने बताउँदै निजी क्षेत्रलाई थप लगानी गर्न, नयाँ उद्योग खोल्न र विदेशी लगानीकर्तालाई समेत नेपाल भित्र्याउन आग्रह गरे । 

‘स्वदेशी पुँजी पहिलो प्राथमिकता, आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ : सांसद विदुषी राणा

छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भेटको सहजीकरण गर्नुहुने सांसद तथा व्यवसायी विदुषी राणाले प्रधानमन्त्रीसँगको छलफल अत्यन्त विस्तृत र समाधानमुखी भएको बताइन् । छलफलमा व्यवसायीहरूले राज्यका अनुसन्धान निकायहरूबाट हुने अनावश्यक धरपकड र कानुनी त्रासका कारण समग्र निजी क्षेत्रको मनोबल खस्किएको गुनासो गरेका थिए । यस विषयमा प्रधानमन्त्रीले व्यावसायिक सुरक्षाको पूर्ण ग्यारेन्टी गर्नुभएको सांसद राणाले जानकारी दिइन् । 

पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित गर्न प्रधानमन्त्रीले आकर्षक प्रस्ताव अघि सार्नुभएको सांसद राणाले बताइन् । उनका अनुसार प्रधानमन्त्रीले व्यवसायीहरूलाई भनेका  छन्, "कसैले डोल्पा, मुगु वा राराजस्ता विकट ठाउँमा गएर १ अर्ब रुपैयाँसम्म लगानी गरी फ्याक्ट्री वा होटल खोल्ने आँट गर्छ भने त्यहाँसम्म बाटो, पुल र बिजुली पुर्‍याउने सम्पूर्ण जिम्मा सरकारले लिन्छ।" यस प्रस्तावपछि व्यवसायीहरूले राज्यले आधारभूत पूर्वाधारको प्रत्याभूति गरे निजी क्षेत्र जस्तोसुकै दुर्गम क्षेत्रमा पनि लगानी खन्याउन तयार रहेको बताएका थिए ।

यसका साथै छलफलमा नेपाली विद्यार्थी र पुँजीको विदेश पलायन रोक्न नेपालमै गुणस्तरीय मेडिकल र नर्सिङ कलेजहरूको सिट संख्या बढाउनुपर्ने, विश्वस्तरीय विश्वविद्यालय र अस्पतालहरू नेपालमै स्थापना गर्न सहजीकरण गर्नुपर्ने तथा कृषिलाई औद्योगिकीकरण गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो। मुलुकको अर्थतन्त्रमा ८० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई पूर्ण विश्वासमा लिएर ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रिले व्यावसायीलाई स्पष्टपारे ।