बन्द तथा समस्याग्रस्त उद्योगको आर्थिक दायित्वको व्यवस्थापन गर्दैछौँ, सञ्चालनको जिम्मेवारी नीजि क्षेत्रलाई नै दिन्छौँः अर्थमन्त्री वाग्ले
उनले सरकारी स्वामित्वका उद्योगको सम्पत्ती र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पुरा गरेर नीति क्षेत्रलाई हस्तान्तरण गरिने बताएका हुन् ।
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी नीजि क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताएका छन् ।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकार आफैंले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको स्पष्ट पारे । उनले सरकारी स्वामित्वका उद्योगको सम्पत्ती र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पुरा गरेर नीति क्षेत्रलाई हस्तान्तरण गरिने बताएका हुन् । उनले गोरखकाली रबर उद्योग, हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टलगायत सातवटा उद्योगको विस्तृत मूल्यांकन (डीडीए) गरिएको छ । ती निकायको मूल्यांकनका आधारमा सरकारी जग्गा तथा सम्पत्तिको व्यवस्थापन गरी निजी क्षेत्रलाई सञ्चालनका दिन सकिने उनको भनाइ छ । उनले विगतमा उत्पन्न भएका विवादित विषयलाई नछोई निजी क्षेत्रले सञ्चालनको जिम्मेवारी लिन सक्ने व्यवस्था मिलाइने बताए । तर उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएका ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ । अर्थमन्त्री वाग्लेले सरकारले निजी क्षेत्रको वैध नाफामाथि शंका गर्नेभन्दा निष्पक्ष प्रतिस्पर्धाको वातावरण बनाउनेमा केन्द्रित रहेको बताएका हुन् ।
