मन्त्रीको ‘पाता कस्ने’ अभिव्यक्तिपछि ग्यास उद्योगी आक्रोशित, प्रमाणबिना दोषी नदेखाऊन आग्रह

विज्ञापन
ncell

एलपी ग्यास उद्योग संघ नेपालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले ग्यास उद्योगीप्रति दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । प्राकृतिक विपत्तिका कारण आपूर्ति प्रभावित भइरहेको अवस्थामा उद्योगीलाई मात्र दोषी देखाउनुको सट्टा समस्याको वास्तविक कारणबारे वस्तुगत अध्ययन गर्न संघले सरकारसँग आग्रह गरेको हो ।

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले ग्यास उद्योगीप्रति दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । प्राकृतिक विपत्तिका कारण आपूर्ति प्रभावित भइरहेको अवस्थामा उद्योगीलाई मात्र दोषी देखाउनुको सट्टा समस्याको वास्तविक कारणबारे वस्तुगत अध्ययन गर्न संघले सरकारसँग आग्रह गरेको हो ।

संघले जारी गरेको विज्ञप्तिमा नेपालमा एलपी ग्यासको कारोबार गर्दै आएका उद्योगहरूले पाँच दशकभन्दा लामो समयदेखि उपभोक्तालाई सेवा दिँदै आएको उल्लेख गरिएको छ । विगतमा भएका विभिन्न विपद् तथा संकटका समयमा समेत उद्योगहरूले आफ्नो स्रोतसाधन परिचालन गरी उपभोक्तालाई ग्यास उपलब्ध गराउँदै आएको संघको दाबी छ ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रालयबाट ग्यास उद्योगीप्रति गरिएको अभिव्यक्तिले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ । कठिन परिस्थितिमा आपूर्ति सहज बनाउन उद्योगीहरूले आफ्नो क्षमताअनुसार काम गरिरहेको अवस्थामा नेतृत्व तहबाटै गैरजिम्मेवार र अमर्यादित अभिव्यक्ति आउनु दुःखद भएको संघको भनाइ छ ।

संघले अहिलेको समस्यालाई लिएर एकअर्कामाथि दोष थोपर्ने प्रवृत्तिले समाधान नदिने बताएको छ। ग्यास आपूर्तिमा देखिएको समस्या पहिचान गर्न सबै पक्षको भूमिकाबारे निष्पक्ष र वस्तुनिष्ठ समीक्षा आवश्यक रहेको संघले जनाएको छ ।

संघका अनुसार अहिले ७।१ केजी ग्यासको व्यवस्था १५ दिनका लागि भनिए पनि पछिल्लो चार महिनासम्म निरन्तर रूपमा ग्यास आपूर्ति हुँदै आएको छ । सिलिन्डर व्यवस्थापनको विषयमा आफूहरूले २०८२ सालमै नेपाल आयल निगमलाई पत्र पठाएर जानकारी गराएको तथा त्यसपछि पनि सम्बन्धित निकायलाई निरन्तर अवगत गराउँदै आएको संघले जनाएको छ ।

तर ग्यास आयातमा समयमै आवश्यक पहल हुन नसकेको, पूर्ण सिलिन्डरको आपूर्ति भएपछि सिलिन्डरको माग अचानक बढेको तथा पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ग्यास बुलेटको ढुवानी प्रभावित भएको विषयलाई पनि अहिले देखिएको अभावको कारणका रूपमा विश्लेषण गर्नुपर्ने संघको भनाइ छ ।

कुनै उद्योगले नियतवश कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भएमा प्रचलित कानुनअनुसार कारबाही भोग्न आफूहरू तयार रहेको संघले स्पष्ट पारेको छ । तर प्रमाणबिना सम्पूर्ण ग्यास उद्योगीलाई दोषी देखाउने वा भौतिक कारबाहीको संकेत दिने कार्य आपत्तिजनक भएको संघको ठहर छ ।

एलपी ग्यास अत्यावश्यक वस्तु भएकाले संकटका बेला उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन आफूहरू सम्बन्धित सरकारी निकायसँग निरन्तर सहकार्य गर्दै आएको संघले जनाएको छ । सरकारले दिने व्यावहारिक निर्देशन पालना गर्न आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै संघले कठिन परिस्थितिमा आपूर्ति सहज बनाउन सहयोग गर्ने सबै सरकारी निकाय, उपभोक्ता तथा सरोकारवालालाई धन्यवादसमेत दिएको छ ।