उद्धारमा समन्वय नहुँदा धेरैको ज्यान जोगाउन सकिएनः सांसद लिमा अधिकारी
रसुवामा बाढीपछि सरकारले गरेको उद्धार, राहत वितरण तथा पुनःस्थापनाबारे अर्थसमितिमा भएको छलफलमा सांसद अधिकारीले सरकारको कमजोरीका कारण धेरैको ज्यान गएको आरोप लगाए । उनले उद्धारका क्रममा सरकारी संयन्त्र र जलविद्युत आयोजना सञ्चालकबीच प्रभावकारी समन्वय हुन नसकेको बताए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले रसुवा बाढीपछिको उद्धारमा सरकारको कमजोरी देखिएको बताएका छन् । रसुवामा बाढीपछि सरकारले गरेको उद्धार, राहत वितरण तथा पुनःस्थापनाबारे अर्थसमितिमा भएको छलफलमा सांसद अधिकारीले सरकारको कमजोरीका कारण धेरैको ज्यान गएको आरोप लगाए । उनले उद्धारका क्रममा सरकारी संयन्त्र र जलविद्युत आयोजना सञ्चालकबीच प्रभावकारी समन्वय हुन नसकेको बताए ।
जलविद्युत आयोजनासँग सुरुङ, पावरहाउस, प्राविधिक जनशक्ति र आवश्यक उपकरणको विवरण तथा स्रोतसाधन हुने भएकाले विपद्को सुरुवाती चरणमै ती स्रोतको परिचालन गर्न सकेको भए सुरुङमा फसेका व्यक्तिको ज्यान जोगाउन सकिने उनको भनाई छ । उनले विपद् व्यवस्थापनमा पनि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको बताए । उनले तीन तहको सरकारबीच समन्वय नहुँदा उद्धार तथा राहत वितरणमा समस्या देखिएको उल्लेख गरे ।
उनले वाढी प्रभावितलाई अव्यवस्थित रूपमा होल्डिङ सेन्टरमा राखिएको पाइएको बताए । महिला, सुत्केरी तथा किशोरीलाई समेत एउटै स्थानमा राखिँदा लैङ्गिक हिंसा, मानव बेचबिखन तथा अन्य अवाञ्छित गतिविधिको जोखिम बढ्न सक्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराए । उनले बाढीपीडितको तत्काल पुनःस्थापनाका लागि अस्थायी टहरा निर्माण गर्नुभन्दा केही महिनाका लागि घरभाडा उपलब्ध गराउने व्यवस्था गर्न पनि सरकारसंग माग गरे ।
तीन तहका सरकारबीच समन्वय गरी प्रभावित परिवारलाई चार-पाँच महिनासम्म भाडाको घरमा व्यवस्थित गर्न सकिने उनको भनाई छ । दीर्घकालीन रूपमा घरजग्गा गुमाएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी घर निर्माणको व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ ।
उनले हरेक वर्ष बाढी, डुबान, पहिरो तथा भूकम्पबाट ठूलो जनधनको क्षति भइरहेपनि सरकारको पूर्वतयारी नदेखिएको बताए । विपद्को पूर्वसूचना प्रणालीलाई आधुनिक बनाउनुपर्ने उनको भनाई छ । एसएमएस र माइकिङमा मात्र निर्भर नभई जोखिमको तहअनुसार हरियो, पहेँलो र रातो संकेतसहितको तत्काल आपत्कालीन मोबाइल अलर्ट प्रणाली लागू गर्नुपर्ने उनको प्रस्ताव छ ।
