कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल

विज्ञापन
ncell

नेपालले पत्रमार्फत क्षतिपूर्ति मागेको नभई दु्रत गतिमा सहयोगको अपेक्षा गरेको हो । जसलाई कोषको सहयोग उपलब्ध गराउने सम्बन्धी ‘बारबाडोस इम्प्लिमेन्टेसन मोडालिटी’ ले सम्बोधन गर्न सक्ने अपेक्षा विज्ञहरुले गर्दै आएका छ । तर यो कोष सहयोग कोष मात्रै भएको र राष्ट्रसंघीय संरचनामा क्षतिपूर्तिको प्रष्ट व्यवस्था नभएकाले कोषले न्याय दिन्छ वा दिएन भनेर बुझिनु गलत हुन्छ ।

काठमाडौं । भोटेकोशी रसुवा बाढी पछि अहिले सर्वत्र नेपालले जलवायु न्याय पाउनुपर्ने आवाज टड्कारो उठिरहेको छ । त्यसो त यो विषय नेपालले वर्षौंदेखि उठाउँदै आईरहेको छ । जलवायु न्याय अथवा ‘क्लाइमेट जस्टिस’ आफैँमा एउटा ‘भेग’ शब्द हो । यसको एउटै वा एकै प्रकारको परिभाषा हुँदैन । अन्तर्राष्ट्रिय कुटनीतिमा जलवायु न्याय केही हदसम्म कार्यान्वयन भएको देखिन्छ । विकसित राष्ट्र वा ऐतिहासिक रूपमा धेरै कार्बन उत्सर्जनका लागि जिम्मेवार राष्ट्रहरूले उत्सर्जन घटाउने, विकसित तथा अन्य राष्ट्रहरूले विकासोन्मुख राष्ट्रलाई आर्थिक सहयोग उपलब्ध गराउने र अति कम विकसित तथा साना टापु राष्ट्रहरूलाई जलवायु जोखिमसँग जुध्न सहयोग गर्ने लगायतका निर्णय भएका छन् । जलवायु परिवर्तनका कारण सबैभन्दा बढी महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी तथा जनजाति समुदायहरू प्रभावित हुने भएकाले उनीहरूलाई सम्बोधन गर्ने विषय पनि जलवायु सम्बन्धी निर्णयमा समेटिएका छन् । यसलाई जलवायु न्यायको भाव समेटिएको भन्न सकिन्छ । तर हाल नेपालले व्यहोर्नुपरेको नोक्शानीको क्षतिपूर्ति पाइहाल्छौँ भन्ने सहज अन्तर्राष्ट्रिय संरचना भने छैन । कृषि, बन तथा पर्यावरण र अर्थ मन्त्रालयले फण्ड फर रेस्पोन्डिङ लस एण्ड ड्यामेजमा घटनाको उल्लेख गर्दे आपतकालिन कोष उपलब्ध गराउन पत्राचार गर्नुलाई न्यायको दृष्टिकोणबाट सकारात्मक पहल मान्न सकिन्छ । नेपालले पत्रमार्फत क्षतिपूर्ति मागेको नभई दु्रत गतिमा सहयोगको अपेक्षा गरेको हो । जसलाई कोषको सहयोग उपलब्ध गराउने सम्बन्धी ‘बारबाडोस इम्प्लिमेन्टेसन मोडालिटी’ ले सम्बोधन गर्न सक्ने अपेक्षा विज्ञहरुले गर्दै आएका छ । तर यो कोष सहयोग कोष मात्रै भएको र राष्ट्रसंघीय संरचनामा क्षतिपूर्तिको प्रष्ट व्यवस्था नभएकाले कोषले न्याय दिन्छ वा दिएन भनेर बुझिनु गलत हुन्छ । भोटेकोशी घटना, जलवायु न्याय र संयुक्तराष्ट्रसंघयि महासन्धि, सो महासन्धि अनुसारका जलवायु वित्तका विभिन्न कोष र जलवायु न्यायका विभिन्न पक्षमा जलवायु विज्ञ मञ्जित ढकालसँग कुराकानी गरेको छ ।

के हो जलवायु न्याय ? 

जलवायु न्याय भनेको अत्यन्तै भेग विषय हो । यसको एकै प्रकारको परिभाषा पनि हुदैन । यसले सबैलाई एकै किसिमको प्रभाव पनि पार्देन । यो आफैँमा जटिल विषय हो । जलवायु न्याय कार्यान्वयन भएको छ त रु जलवायु न्यायको भावका रुपमा अन्तर्राष्ट्रिय कुटनीतिमा केही हदसम्म यो कार्यान्वयन भएको देखिन्छ । जस्तै विकसित राष्ट्र वा कार्बन उत्सर्जन गर्न धेरै जिम्मेवार राष्ट्रहरूले कार्बन उत्सर्जन घटाउने वा कम योगदान भएका विकासोन्मुख राष्ट्र, अति कम विकसित राष्ट्र र साना टापु राष्ट्रहरूलाई जलवायु जोखिमसँग जुध्नको लागि सहयोग गर्ने काम भएको छ । जलवायु परिवर्तनबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी, जनजाति समुदायहरू बढी प्रभावित हुन्छन् भनेर ती समूह लक्षित सहयोग आउनुलाई अहिलेसम्म हामीले जलवायु न्यायको भाव समेटिएको छ भनेर भन्न सक्छौँ । तर जुन प्रकारको भाष्य अहिले हामीले स्थापित गर्न खोज्दैछौँ, ‘नेपालमा क्षति भयो, यो क्षतिको हामीले क्षतिपूर्ति पाइहाल्छौँ भन्ने, त्यति सहज खालको अन्तर्राष्ट्रिय संरचना बनिसकेको छैन । विपद्का घटनाहरूमा जलवायु परिवर्तनको भुमिका कति थियो भनेर अध्ययन गरिन्छ । जसलाई ‘क्लाइमेट एट्रिब्युसन स्टडी’ भनिन्छ । नेपालमा दुई वर्ष अगाडि असोजमा काठमाडौँ लगायत क्षेत्रको बाढीको जलवायु विज्ञानको आधार सम्बन्धी अध्ययनमा जलवायु विज्ञ ढकाल आफैँ संलग्न हुनुहुन्थ्यो । विगत १७५ वर्षमा पृथ्वीको औसत तापमान १ दशमलव ३ डिग्री सेल्सियसले बढ्दा बाढीको जोखिम १० प्रतिशतले र सोही प्रकृतिको बाढी दोहोरिने सम्भावना ७० प्रतिशतले बढेको त्यस अध्ययनले देखाएको थियो ।

‘फण्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज’ क्षतिपूर्ति दिने कोष होइन 

नेपाल सरकारका दुई मन्त्रालय अर्थ र कृषि, वन तथा वातावरण मन्त्रीज्युको हस्तारमा अन्तराष्ट्रिय हानी तथा नोक्शानी कोस (फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज) मा पठाईएको पत्रले नेपाल सहित विश्व स्तरमा पनि चर्चा भएको छ । घटना लगतै अति कम विकसित मुलुकका मन्त्रीस्तरीय बैठकमा पनि यसले चर्चा पाएको छ । नेपालमा अष्ट्रेलिया सरकारको सहयोगमा सञ्चालित अन्तराष्टिय गैहसरकारी संस्थाहरुले पनि फआरएलडीमा नेपालको तर्फबाट पहल गर्न अनुरोध गरेर अष्ट्रेलियन सरकारलाई पत्राचार गरेका छन् । आधिकारिक पत्र पठाएपछि यसले व्यापक चर्चा पाउनु स्वाभाविक नै हो । तर पत्र पठाउने वित्तिकै नेपाल सरकारलाई तुरुन्तै सहायता प्राप्त हुन्छ भनेर बुझ्नु भने गलत भएको जलवायु विज्ञ ढकाल बताउंछन् । एफआरएलडीका बोर्ड सदस्य समितिका सल्लाहाकार समेत रहेका जलवायु विज्ञ ढकाल कोषको मर्म र क्षेत्राधिकार बुझ्न आवश्यक रहेको बताए ।

पेट्रोलियम पदार्थको प्रयोग र कार्बन उत्सर्जनका कारण पृथ्वीको तापमान निरन्तर बढिरहँदा अब अनुकूलन पर्याप्त हुँदैन भन्ने स्पष्ट भइसकेको छ । विकासोन्मुख र अल्पविकसित मुलुकमा जलवायु परिवर्तनले निम्त्याएको क्षतिको पूर्तिका लागि हानी नोक्शानी कोष कार्यान्वयनमा लैजाने निर्णय कोप २८ को महत्वपुर्ण निर्णय थियो । यो कोष कार्यान्वयनमा जाँदा जलवायु जोखिममा रहेका अल्पविकसित देशहरुले भोगेका जलवायुजन्य हानी नोक्सानीको क्षतिपूर्तिका लागि महत्वपुर्ण कोसेढुंगा साबित हुन्छ भन्ने विश्वास गरिएको थियो । विज्ञ ढकाल कोष सञ्चालबारे भन्नुहुन्छ ‘फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज’ क्षतिपूर्ति दिने कोष होइन । संयुक्त राष्ट्र सङ्घीय निकायहरूमा क्षतिपूर्तिको संयन्त्र बनेकै छैन । ऐतिहासिक उत्सर्जन, वर्तमान उत्सर्जन वा प्रतिव्यक्ति उत्सर्जन-कसलाई आधार मानेर क्षतिपूर्ति तोक्ने भन्ने विषय निकै जटिल छ । त्यसैले यसलाई ‘क्षतिपूर्ति कोष’ नभनी जलवायु न्यायको दृष्टिकोणबाट प्राप्त हुने सहज र द्रुत ‘सहयोग कोष’ का रूपमा बुझ्नुपर्छ ।’

कोषमा प्रतिवद्धता भए अनुसारको रकम अझै पनि जम्मा भईनसक्नु भने दुखको कुरा हो । तर कोष सञ्चालको कार्यविधिमा रहेको ‘बारबाडोस इम्प्लिमेन्टेसन मोडालिटी’ जस्ता संयन्त्रमार्फत द्रुत र सहज सहयोग उपलब्ध हुनेछ भनेर नेपालले विश्वास गर्ने आधार भने रहेको विज्ञ ढकाल बताउंछन् । 

नेपालको प्रारम्भिक आकलनअनुसार पुनरुत्थानका लागि ४ देखि ५ बिलियन अमेरिकी डलर वा सोभन्दा बढी आवश्यक पर्ने देखिएकाले फण्डबाट आउने रकम पर्याप्त नहुने भएकाले बाढीपछिको पुनरुत्थानका लागि नेपालले अन्य धेरै संयन्त्रहरू पनि परिचालन गर्नुपर्ने तर्क उनले गरे । 

संयुक्त राष्ट्रसङ्घको संरचनामा ‘उत्सर्जन गर्नेले सोझै क्षतिपूर्ति देऊ’ भन्ने व्यवस्था छैन 

सन् १९९२ को जलवायु परिर्वतन महासन्धि र सन् २०१५ को पेरिस सम्झौताका प्रावधानहरूलाई अन्तर्राष्ट्रिय अदालतले थप न्यायिक व्याख्या गर्दै जलवायु परिवर्तनलाई मानव अधिकार र दायित्वसँग जोडेको छ । बढी कार्बन उत्सर्जन गर्ने मुलुकहरूले प्रतिवद्धताअनुसार उत्सर्जन घटाउनुपर्ने र विकसित राष्ट्रहरूले विकासोन्मुख राष्ट्रहरूलाई आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने स्पष्ट पारिएको छ । सबैसँग राम्रो सम्बन्ध भएको नेपालले अन्तर्राष्ट्रिय सहानुभूतिलाई सहयोग र सहकार्यमा परिणत गर्नुपर्छ । यसका लागि नेपालको धरातल एकदमै बलियो छ । हिमालको भाग नै छुट्टिएर आएको नयाँ प्रकारको जोखिमले अन्तर्राष्ट्रिय समुदायलाई प्रश्न गर्ने आधार दिएको छ । अर्कोतर्फ, नेपालले लगभग आधा भूभागमा वनजंगल संरक्षण गरेको, स्वच्छ ऊर्जा र विद्युतीय यातायातमा प्रगति गरेको छ । जलवायु जोखिममा संवेदनशील भएर पनि संरक्षणमा अग्रणी भुमिका खेलेकाले जलवायु न्यायका लागि नेपालको परिस्थिति अनुकूल छ । तर संयुक्त राष्ट्र सङ्घको संरचनामा ‘उत्सर्जन गर्नेले सोझै क्षतिपूर्ति देऊ’ भन्ने प्रस्ट व्यवस्था नभएकाले ‘नेपाललाई कसले कसरी जलवायु न्याय दिने’ भन्ने प्रश्नको

कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छ 

जलवायुजन्य घटना र जलवायु न्यायको सवाल उठाउदै गर्दा नेपालले कसैलाई पनि तोकेरै आरोप लगाउन नहुने तर्क उनको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय भू-राजनीति र सहयोगको ढाँचा परिवर्तन भइरहेकाले विकसित राष्ट्रहरूबाट मात्रै सहयोग आउँछ भन्ने निश्चित छैन । त्यसैले, सम्पन्न छिमेकी राष्ट्रहरूसँग सुमधुर सम्बन्ध कायम गरी सहकार्य बढाउनुपर्नेमा उनले जोड दिए ।

महासभाको भाषणबाट रातारात नतिजा आउदैन, यो नियमित प्रक्रिया हो 

संयुक्त राष्ट्र सङ्घको महासभामा सरकार प्रमुख वा राष्ट्र प्रमुख जानु नियमित प्रक्रिया भएकाले तत्काल सहयोग आईहाल्ने भन्ने ढंगले नबुझ्न पनि विज्ञ ढकालले सुझाव दिएका छन् ।

भोटेकोशी रसुवा बाढीबाट नेपालले के सिक्ने ? 

भोटेकोशी रसुवा बाढीले जलवायु न्याय र अधिकारका कुराहरू अझै वृहत र विस्तृत छलफलमा ल्याउन आवश्यक रहेको देखाएको छ । सन् २०२२ मा पाकिस्तानमा आएको बाढीपछि पुनरुत्थानका लागि ४० बिलियन डलर आवश्यक परेकोमा ९ बिलियन डलर मात्र सहयोग प्राप्त भएको उदाहरण दिदै उनले यसबाट सबै क्षति अन्तर्राष्ट्रिय सहयोगबाट मात्र पूर्ति हुँदैन भन्ने पाठ सिक्न सकिने बताए । हालको विपद्को असर व्यापार, दसैँ-तिहारको आयात र जलविद्युत् क्षेत्रमा लामो समयसम्म देखिनेछ । साथै, बस्ती विस्थापनले सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक क्षेत्रमा पारेको प्रभाव झनै ठूलो देखिदै जानेछ । त्यसैले नागरिक समाजले जलवायु न्यायका विषयमा बलियो आवाज उठाउनुपर्छ भने सरकारले सम्पूर्ण संयन्त्रहरूलाई सुसूचित र संयमित रूपमा परिचालन गरी सहयोग जुटाउनुपर्छ । छोटो समयमा मानिसहरूलाई स्थानान्तरण गर्नुपर्ने जलवायुजन्य जोखिमलाई जुनसुकै विकसित राष्ट्रले पनि सम्हाल्न सक्ने थिएनन् ।

यस विपत्तिले हामीलाई धेरै पाठ सिकाएको छ । पूर्व सूचना प्रणाली जलवायु अनुकूलन को एउटा अङ्ग हो । ४४ वटा अति कम विकसित राष्ट्रहरूसँग तुलना गर्दा नेपालका लगभग सबै मुख्य नदीहरूमा पूर्व सूचना प्रणाली स्थापित छ । तर हालै आएको बाढी यति भयानक थियो कि यसले प्रणालीको कल्पनाभन्दा निकै माथिको तह नाघ्यो । ठूलो र भिन्न प्रकृतिको विपद् भएकाले कुनै पनि पुर्वतयारीले क्षति रोक्न सक्ने अवस्था नरहेकाले पूर्व तयारी र पूर्वसूचना प्रणालीमा प्रश्न गर्ने ठाउँ नरहेको टिप्पणी गरे ।  विज्ञ ढकालका अनुसार, विस्थापितहरूलाई अर्को स्थानमा पुनस्र्थापना गर्दा महिला र बालबालिकाका विशेष आवश्यकता, सुरक्षित आवास, र स्वास्थ्य जोखिमहरूमा ध्यान दिनुपर्छ । क्षति भएका नदी किनारका क्षेत्रमा तुरुन्तै पुनः संरचना बनाउन सकिने अवस्था छैन । त्यसैले, २-३ मिटर अग्लो बाढी नाप्ने पुराना प्रविधिको सट्टा भू-उपग्रहमा आधारित पूर्व सूचना प्रणाली जडान गर्ने, सुरक्षित स्थानमा बस्ती सार्ने र जलविद्युत् आयोजना निर्माण गर्दा जोखिम आकलन गर्ने जस्ता विषयमा पूर्वतयारीका साथ अघि बढ्नुपर्छ ।