सरकारमाथि महेश बस्नेतको आरोप-राज्यको सामर्थ्य कब्जा गरेर निश्चित मान्छेलाई बचाउने खेल भयो
आफूहरूले विगतमा अपराधमा संलग्न व्यक्तिविरुद्ध दिएका जाहेरी तथा पक्राउ गरेर प्रहरीलाई बुझाएका व्यक्तिमाथि समेत कारबाही नभएको भन्दै प्रहरी प्रशासनमाथि प्रश्न उठाए ।
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यको स्रोत, साधन र सामथ्र्यलाई नियन्त्रणमा जेन-जी आन्दोलनका निश्चित मानिसहरुलाई बताउने खेल भएको दाबी गरेका छन् । बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले यस्तो बताएका हुन् । आफूहरूले विगतमा अपराधमा संलग्न व्यक्तिविरुद्ध दिएका जाहेरी तथा पक्राउ गरेर प्रहरीलाई बुझाएका व्यक्तिमाथि समेत कारबाही नभएको भन्दै प्रहरी प्रशासनमाथि प्रश्न उठाए ।
उनले कारबाही नहुनुले प्रहरीसमेत घटनामा संलग्न रहेको आशंका पैदा भएको दाबी गर्ने बताए । बस्नेतले जेन-जी प्रदर्शन घटनामा प्रहरी संरचनासमेत ठूलो क्षतिमा परेको उल्लेख गर्दै प्रहरी चौकी, अदालत, सवारीसाधन तथा हतियारमा ठूलो क्षति भएको बताए । उनले यस्तो अवस्थामा पनि दोषीमाथि कारबाही हुन नसक्नु गम्भीर विषय भएको बताए । उनले जेन-जी घटनाको छानबिनका लागि गठन भएको कार्की आयोगको निष्पक्षतामाथि समेत प्रश्न उठाए । सिंहदरबार, संसद तथा सर्वोच्च अदालतलगायतका संरचनामा भएको आगजनी र हिंसाबारे निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ छ । बस्नेतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी १३ दिनसम्म राखिएको प्रसंग उठाउँदै त्यसबाट के अभियोग स्थापित भयो भन्ने प्रश्नसमेत गरे ।
उनले प्रधानमन्त्री बालेन्द्र साह, गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका व्यक्तिमाथि पनि घटनाको गम्भीर छानबिन भए कारबाहीको आधार भेटिन सक्ने दाबी गरे । बस्नेतले वर्तमान सरकारलाई ‘असक्षम, अयोग्य र कठपुतली सरकार’को संज्ञा दिए । विदेशी शक्तिको प्रभावमा सरकार चलेको आरोप लगाउँदै उनले सरकार जति लामो समय रहन्छ, मुलुकलाई त्यति नै क्षति हुने दाबी गरे । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारमा समेत सरकार असफल भएको उनको आरोप छ । उनले विपद्को समयमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरूको भने प्रशंसा गरे ।
तर, सुरक्षा निकायको नेतृत्व र समग्र संस्थामाथि गम्भीर प्रश्न उठेको उनको भनाइ छ । बस्नेतले रसुवा, नुवाकोट, धादिङलगायतका प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टर पर्याप्त रूपमा प्रयोग हुन नसकेको आरोप लगाए । पीडितहरूले रकम तिरेर समेत हेलिकप्टरमार्फत उद्धार गर्न खोज्दा अनुमति नदिइएको उनको दाबी छ ।
