भदौ २४ लाई सम्झँदै दाहालले भने- एकै दिन यति ठूलो विध्वंस नियोजित रूपमा भएको अर्को उदाहरण मलाई थाहा छैन

विज्ञापन
ncell

भदौ २४ को घटनाको स्मरण गर्दै दाहालले सयौँ वर्षमा निर्माण भएका ऐतिहासिक धरोहर, राजनीतिक दलका कार्यालय, सरकारी संरचना तथा निजी भवनहरू केही घण्टामै ध्वस्त पारिएको बताए ।

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनालाई नेपालको इतिहासकै गम्भीर र रहस्यमय घटनाका रूपमा चित्रण गर्दै त्यसको बहुआयामिक अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । भदौ २४ को घटनाको स्मरण गर्दै दाहालले सयौँ वर्षमा निर्माण भएका ऐतिहासिक धरोहर, राजनीतिक दलका कार्यालय, सरकारी संरचना तथा निजी भवनहरू केही घण्टामै ध्वस्त पारिएको बताए ।

उनले नेपालको राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक आन्दोलन र नेपाली जनताको आकांक्षामाथि भएको यस्तो स्तरको प्रहारको गहिरो अध्ययन आवश्यक रहेको बताए । दाहालले घटनाको वास्तविक दोषी र विध्वंस मच्चाउने तत्वको पहिचान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिए । उनकाअनुसार घटना भएको एक वर्ष बितिसक्दा पनि त्यस दिशामा अपेक्षित काम हुन सकेको छैन । उनले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनसमेत कार्यान्वयनको दिशामा अघि नबढेको आरोप लगाए । 

आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुको साटो दराजमा थन्क्याउने काम भएको उनको भनाइ छ ।

दाहालले भदौ २३ गते युवाहरूले सुशासन र पारदर्शिताका लागि उठाएको आवाज र त्यसको भोलिपल्ट भएको घटनाक्रमलाई फरक ढंगले बुझ्नुपर्ने बताए । उनकाअनुसार भदौ २४ को घटनाले युवाहरूको भावना र आकांक्षालाई प्रतिनिधित्व नगरी भदौ २३ को आन्दोलनलाई अपहरण र कब्जा गर्ने शक्तिको हालीमुहाली देखाएको छ । ‘भदौ २४ को घटना रहस्यमय छ’ भन्दै दाहालले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयामसमेत रहेको बताए । उनले वर्तमान भू-राजनीतिक परिवेशलाई समेत ध्यानमा राख्दै घटनाको अन्तर्राष्ट्रिय आयामबाट समेत अध्ययन र अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याए ।

राष्ट्रिय दृष्टिकोणबाट सुरक्षा निकायको भुमिका, राजनीतिक नेतृत्वको भुमिका लगायत घटनासँग जोडिएका सबै पक्षबारे गहिरो अनुसन्धान हुनुपर्ने दाहालको भनाइ छ । दाहालले नेपालको इतिहासमा एकै दिन यति ठूलो विध्वंस नियोजित रूपमा भएको अर्को उदाहरण आफूलाई थाहा नभएको बताए । उनले अहिलेको अवस्थालाई नेपालको राष्ट्रिय स्वाधीनतामाथि सुगौली सन्धिपछिको सबैभन्दा ठूलो संकटका रूपमा समेत व्याख्या गरे । 

उनकाअनुसार पछिल्लो घटनाक्रमले नेपाली जनताको आत्मनिर्णयको अधिकार खोसिएको अनुभूति गराएको छ । लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानमाथि निरंकुशताको प्रहार भएको र भदौ २४ को घटनाक्रमले संविधानलाई कमजोर बनाएको उनले बताए । दाहालले घटनाको बहुआयामिक अध्ययन तथा अनुसन्धान गरी दोषी पहिचान गरेर कुनै आग्रह-पूर्वाग्रहबिना कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनतालाई अझ सुदृढ बनाउन देशका सबै राजनीतिक शक्ति, देशभक्त तथा आम नेपाली जनता एक भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।