जेनजी अभियन्तासँगका १० बुँदे सम्झौता कार्यान्वयन गर्न सांसद खरेलको माग
सो क्रममा उनले जेन-जी आन्दोलनका शहीदहरूको सपना साकार पार्न सरकारलाई कुनै पनि दुविधामा नपरी अघि बढ्न सुझाव दिए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं प्रवक्ता जगदीश खरेलले ‘जेन-जी’ आन्दोलनका क्रममा भएका सहमतिहरू कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
मङ्गलबार ललितपुरमा जेन-जी शहीद विकास महर्जनको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । आफू अन्तरिम सरकारको प्रवक्ता र सञ्चारमन्त्री भएको समयमा जेन-जी अभियन्ताहरूसँग निकै मेहनतका साथ १० बुँदे सम्झौता गरिएको स्मरण गर्दै सांसद खरेलले उक्त सम्झौताको कानूनी हैसियत महत्वपूर्ण रहेको उल्लेख गरे ।
सो सम्झौतालाई कतिपयले ‘कागजको टुक्रा’ को संज्ञा दिए पनि सरकारले राजपत्रमा प्रकाशित गरेर त्यसलाई वैधानिकता दिएको उनको भनाइ छ । सम्बोधनका क्रममा खरेलले वर्तमान गृहमन्त्री स्वयं सोही आन्दोलनको नेतृत्वदायी पृष्ठभूमिबाट आएकाले आन्दोलनको मर्म र भावना बुझ्न सहज हुने विश्वास व्यक्त गरे ।
सांसद खरेलले जेन-जीका मुद्दाहरू सम्बोधन गर्ने र आन्दोलनकारीका माग पूरा गर्ने सन्दर्भमा सरकारलाई आफ्नो तर्फबाट र पार्टीको तर्फबाट निःशर्त समर्थन र सहयोग रहने प्रतिवद्धता समेत जनाए । सो क्रममा उनले जेन-जी आन्दोलनका शहीदहरूको सपना साकार पार्न सरकारलाई कुनै पनि दुविधामा नपरी अघि बढ्न सुझाव दिए ।
