बाढीले ४३१ मेगावाट विद्युत् ठप्प, मर्मतमा ठूलो लागत लाग्छ: प्रधानमन्त्री शाह

विज्ञापन
ncell

प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण प्रसारण तथा उत्पादन प्रणाली प्रभावित हुँदा हाल कुल ४३१.१ मेगावाट विद्युत् उत्पादन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

काठमाडौं । भोटेकोशी–त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीका कारण विद्युत् उत्पादनमा अनपेक्षित क्षति पुगेको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले क्षतिग्रस्त आयोजनाहरूमध्ये केही मात्रै पुनः मर्मत सम्भार गरेर सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको र त्यसका लागि पनि ठूलो धनराशि र समय लाग्ने बताए । बाढीका कारण विद्युत् उत्पादनमा गरिरहेका ८ वटा आयोजना (२८१ मेगावाट) र निर्माणाधीन ४ वटा आयोजना (३८८ मेगावाट) गरी कुल १२ वटा जलविद्युत् तथा सौर्य परियोजनाहरूमा गम्भीर क्षति पुगेको छ ।

प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण प्रसारण तथा उत्पादन प्रणाली प्रभावित हुँदा हाल कुल ४३१.१ मेगावाट विद्युत् उत्पादन पूर्ण रूपमा अवरुद्ध भएको छ । विपद्का बाबजुद नागरिकहरूलाई सहजता प्रदान गर्न सरकारले क्षति पुगेका क्षेत्रहरूमा दु्रत गतिमा विद्युत् सेवा पुनःस्थापनाको काम अघि बढाएको छ ।

वैकल्पिक प्रसारण व्यवस्थामार्फत हाल धादिङमा ९८ प्रतिशत र नुवाकोटमा ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः प्रवाह गरिसकिएको प्रधानमन्त्री शाहले संसद्लाई जानकारी दिए ।