‘टनेल रेस्क्यु’का लागि नेपालले भारत र चीनसँग माग्यो सहयोग

विज्ञापन
ncell

नेपालले आवश्यकताका आधारमा मात्र विदेशी विशेषज्ञ टोलीहरूलाई आमन्त्रण गरिरहेको उनले प्रष्ट पारे ।

काठमाडौं ।  परराष्ट्रमन्त्री शिशिर खनालले हिमालयन पारिस्थितिक प्रणालीमा आएको परिवर्तनले नेपाल र यस क्षेत्रका अन्य मुलुकहरूमा गम्भीर जोखिम निम्त्याएको भन्दै यसको संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण गराएका छन् ।  शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न विश्वव्यापी प्रयास आवश्यक रहेकोमा जोड दिएका हुन् । नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा मात्र ०.०१ प्रतिशत योगदान पुर्‍याए पनि जलवायु परिवर्तनको प्रत्यक्ष र गम्भीर असर भोग्नुपरिरहेको उनले बताए ।

उनकाअनुसार सरकारले यस क्षेत्रको बदलिँदो स्वरूप र यसले नेपाल तथा छिमेकी चीनसहितका तल्लो तटीय क्षेत्रमा पार्ने प्रभावबारे स्वतन्त्र रूपमा अनुसन्धान अघि बढाउने तयारी गरेको छ । विपद् व्यवस्थापन र पूर्वसूचना प्रणालीका सम्बन्धमा बोल्दै मन्त्री खनालले चीन सरकारसँगको समन्वयमा संयन्त्र निर्माण गर्ने प्रक्रिया अघि बढिरहेकै बेला पछिल्लो प्राकृतिक विपद् आएको जानकारी दिए । चीनतर्फ पनि विपद्ले ठूलो क्षति पुर्‍याएको र दुवै देशका अधिकारीहरूबीच सूचना आदानप्रदान भइरहेको उनले स्पष्ट पारे । 

मन्त्री खनालले विपद्मा परेका विदेशी नागरिकहरूको उद्धार कार्यबारे पनि अद्यावधिक विवरण सार्वजनिक गरे । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार हालसम्म १८७ जना विदेशी नागरिकको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ११४ जना भारतीय, २७ जना चिनियाँ र २० जना कोरियाली नागरिक रहेका छन् । उनले अझै ४२० जना विदेशी नागरिक बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको जानकारी दिए । बेपत्ता हुनेहरूमा जापानी नागरिक समेत रहेको र उनीहरूको खोजीका लागि सरकारले सक्रियता देखाइरहेको उनको भनाइ छ । उद्धार कार्यमा देखिएका चुनौतीबारे चर्चा गर्दै मन्त्री खनालले नुवाकोट र रसुवा जस्ता जिल्लाको भौगोलिक विकटताका कारण कठिनाइ भइरहेको बताए ।

रसुवा सडक सञ्जालबाट पूर्णतः विच्छेद भएको र साँघुरा खोंचहरूका कारण ठूला हेलिकप्टरहरू उडाउन समस्या भइरहेको उनले जानकारी दिए । उनकाअनुसार नेपालले अहिले विशेष गरी ‘टनेल रेस्क्यु’ (सुरुङ उद्धार) का लागि भारत र चीनसँग सहयोग मागेको छ । भारतीय टोली नेपाल आइसकेको र चिनियाँ टोली पनि सीमा पार गरेर आउने क्रममा रहेको उनले बताए । यसका साथै, फेला परेका शवहरूको संरक्षणका लागि नेपालको क्षमता सीमित रहेकाले शव गृहका लागि आवश्यक ‘फ्रीजर’ उपलब्ध गराउन अन्तर्राष्ट्रिय निकायहरूसँग आग्रह गरिएको मन्त्री खनालले जानकारी दिए । नेपालले आवश्यकताका आधारमा मात्र विदेशी विशेषज्ञ टोलीहरूलाई आमन्त्रण गरिरहेको उनले प्रष्ट पारे ।