रसुवा बाढीः मृतकको संख्या ६ सय २६ पुग्यो, शव व्यवस्थापनमा समस्या
नवलपरासी पूर्वमा मध्यबिन्दु नगर अस्पताल, गैँडाकोट नगर अस्पताल, मध्यबिन्दु प्रादेशिक अस्पताललगायतका अस्पतालमा शव राखिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले शवबाट महामारी फैलिन नदिन आवश्यक व्यवस्थापन गरिरहको उनले जानकारी दिइन् ।
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीले मृत्यू हुनेको संख्या ६ सय २६ पुगेको छ । भदौ १० गतेको बाढीमा परी ज्यान गुमाएका ६ सय २६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् । उनकाअनुसार शनिवार विहान साँढे १० बजेसम्म विभिन्न जिल्लामा उक्त शव फेला परेको हो ।
सबैभन्दा धेरै शव चितवनमा २ सय ३३ वटा शव फेला गरेको उनले जानकारी दिइन् । यस्तै नवलपुर पूर्वमा १ सय ५८, नवलपरासी पश्चिममा ४७, तनहुँमा ३१, गोरखामा ४८, धादिङमा ४५ र रसुवामा १३ जनाको शव फेला परेको छ । प्राधिकरणले शव व्यवस्थापन गर्न समस्या भएको जनाएको छ । अस्पतालमा रहेका शवगृहहरुको क्षमता भन्दा बढी शव भेटिएको र शव पहिचान हुन नसकेको कारण शव व्यवस्थापन गर्न चुनौतीपूर्ण बन्दै गएको प्रवक्ता महतले जानकारी दिइन् । यद्यपि विभिन्नि अस्पतालहरुको सहयोगमा शव व्यवस्थापन भईरहेको उनको भनाई छ । हाल फेला परेका शवहरू सकेसम्म सम्बन्धित जिल्लाका अस्पताल तथा शवगृहमा राखिएको उनले जानकारी दिइन् । उनकाअनुसार रसुवामा फेला परेका शव जिल्ला अस्पताल धुन्चेमा, धादिङ र नुवाकोटमा फेला परेका शव काठमाडौंका शिक्षण अस्पताल लगायतका अस्पतालमा राखिएका छन् ।
चितवनमा शवहरू जिल्ला अस्पताल भरतपुर, पुरानो मेडिकल कलेज तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भवनमा राखिएको छ । तनहुँ र गोरखाबाट फेला परेका शव पोखराका विभिन्न अस्पतालमा राखिएका छन् । पश्चिम नवलपरासीमा पृथ्वीचन्द्र अस्पताल परासी, लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल भैरहवा र पिपरा अस्पताललगायतमा शव राखिएको उनले जानकारी दिइन् ।
नवलपरासी पूर्वमा मध्यबिन्दु नगर अस्पताल, गैँडाकोट नगर अस्पताल, मध्यबिन्दु प्रादेशिक अस्पताललगायतका अस्पतालमा शव राखिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले शवबाट महामारी फैलिन नदिन आवश्यक व्यवस्थापन गरिरहको उनले जानकारी दिइन् । उनकाअनुसार अस्पतालमा राखिएका शवलाई कुलिङ सेन्टरमा राखिएकाले बिग्रिने अवस्था छैन । साथै शव विग्रिन नदिन ४ सय शव ब्याग प्रभावित क्षेत्रमा पठाइएको र थप ब्याग पठाउने क्रम जारी रहेको उनले जानकारी दिइन् ।
२ हजार ४२६ जना अझै सम्पर्कविहीन
प्राधिकरणकाअनुसार २ हजार ४२६ जना अझै सम्पर्कविहीन रहेका छन् सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५ र अध्ययन कार्यालयका ४ जना कर्मचारी रहेका छन् । रसुवा डीओसीबाट ५ सय ६२, नुवाकोटबाट १ सय १५, जलविद्युत आयोजनाबाट ९ सय ३३ र मकवानपुर डीओसीबाट ६५ जना सम्पर्कविहीन भएको सूचना आएको प्रवक्ता महतले जानकारी दिइन् । उनकाअनुसार ५ सय १७ जना विदेशी नागरिक, विदेशमा बस्ने १ सय २७ नेपाली र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना सम्पर्कविहीन रहेका छन् । बाढी प्रभावित क्षेत्रमा हेलिकप्टर तथा स्थलमार्गबाट हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
जलविद्युत आयोजनाको सुरुङबाट शुक्रबार १९१ जनालाई उद्धार गरिएको थियो । शुक्रवार एकै दिन हवाइ माध्यमबाट ५१७ जनाको उद्धार गरिएको र शनिवार पनि उद्धार जारी रहेको प्रवक्ता महतले जानकारी दिइन् । उनकाअनुसार हालसम्म १२९ जना विदेशी नागरिकको उद्धार गरिएको छ । उद्धार तथा राहतका लागि सरकारी र निजी गरी १६ वटा हेलिकप्टरले २३६ भन्दा बढी उडान गरिसकेको उनले जानकारी दिइन् । उनकाअनुसार खोज, उद्धार तथा राहतका लागि १५ हजार २२४ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका ४ हजार ८११, नेपाली सेनाका ६ हजार ७५५ र सशस्त्र प्रहरी बलका ३ हजार ६५८ जना परिचालन भएको उनले जानकारी दिइन् । राहत तथा उद्धार कार्यको लागि २४ हजार लिटर पेट्रोल र २६ हजार लिटर डिजेल प्रभावित क्षेत्रमा पठाइएको उनले बताइन् ।
उनकाअनुसार हवाइ इन्धनतर्फ नुवाकोटमा ३० हजार लिटर पठाएको छ भने ८ हजार लिटर मौज्दात रहेको छ । थप ९ हजार लिटर बाटोमा जाँदै गरेको प्राधिकरणले जनाएको छ । सरकारले राहतका लागि प्रभावित जिल्लामा हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ । हेलिकप्टरमार्फत थप सात उडानमा राहत सामग्री पठाइएको प्रवक्ता महतले जानकारी दिइन् । यस्तै, सरकारले संकटग्रस्त घोषणा गरेका १५ पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ रकम पनि पठाइसकेको प्राधिकरणले जनाएको छ । यसअघि सरकारले भदौ १० मा नै रसुवा र नुवाकोटलाई एक-एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
