विपद्को समयमा सबै दल एक ढिक्का भएर उद्धार र राहतमा जुट्नुपर्छः सांसद राई

विज्ञापन
ncell

बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले पीडितको घाउमा मलम लगाउन मानवीय हिसावले सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद धुर्वराज राईले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिमा सबै राजनीतिक दलहरू एक ढिक्का भएर राहत र उद्धार कार्यमा जुट्नुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले पीडितको घाउमा मलम लगाउन मानवीय हिसावले सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।

सांसद राईले विगत ६ महिनाको अवधिमा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सदनमा पनि सरकारलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिवद्धता जनाइएको जानकारी दिए । उनले आफ्नो पार्टीले हिजोदेखि नै फिल्डमा युवा स्वयंसेवकहरू परिचालन गरी उद्धार कार्य शुरु गरिसकेको बताए । सांसद राईले विपत्तिको समयमा भएका केही अमानवीय घटनाहरूप्रति कडा आक्रोश व्यक्त गरे । विपद्मा परेका मृतक तथा घाइतेका शरीरबाट सुनका गहना लुट्ने जस्ता कार्य भइरहेकोतर्फ संकेत गर्दै उहाँले त्यस्ता कार्यमा संलग्नहरूलाई तत्काल कारबाही गर्न गृहमन्त्रीसँग आग्रह गरेको समेत जानकारी दिए ।

सांसद राईले विगतका विपद्हरूमा जस्तै केही समयपछि पुनर्निर्माणका काम सुस्ताउने प्रवृत्ति दोहोरिन नहुने बताए । उनले भोटेकोशी र सुनकोशी क्षेत्रका पुलहरू अझै निर्माण नभएको उदाहरण दिँदै अहिलेको क्षतिलाई वैज्ञानिक ढङ्गबाट चाँडोभन्दा चाँडो पुनर्निर्माण गर्नुपर्ने र यसमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने प्रतिवद्धता व्यक्त गरे ।