नेपाली सेनाले आज रातभर रसुवामा खोज तथा उद्धार कार्य जारी राख्ने
सेनाका अनुसार आज रातभर ११ वटा एक्स टिममार्फत जमिनबाटै उद्धार तथा खोजी कार्य सञ्चालन हुनेछ । त्यसैगरी, भोलि बिहान टिमुरेभन्दा माथिल्लो क्षेत्रमा ठूलो संख्यामा रहेका प्रभावितलाई हवाई माध्यमबाट उद्धार गर्ने तयारी गरिएको छ ।
काठमाडौँ । नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार कार्य आज रातभर पनि जारी राख्ने भएको छ ।
बाढीबाट प्रभावित हुनेको संख्या अत्यधिक रहेको तथा उद्धारका लागि चौतर्फी अपिल भइरहेको अवस्थामा सेनाले रातको समयमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने जनाएको हो । सेनाका अनुसार आज रातभर ११ वटा एक्स टिममार्फत जमिनबाटै उद्धार तथा खोजी कार्य सञ्चालन हुनेछ ।
त्यसैगरी, भोलि बिहान टिमुरेभन्दा माथिल्लो क्षेत्रमा ठूलो संख्यामा रहेका प्रभावितलाई हवाई माध्यमबाट उद्धार गर्ने तयारी गरिएको छ । विभिन्न टनेलमा अड्किएका व्यक्तिहरूको उद्धारका लागि समेत प्रयास जारी राखिने सेनाले जनाएको छ ।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन हवाई साधनको समन्वयात्मक तथा प्रभावकारी परिचालन, राहत सामग्री वितरण, मित्रराष्ट्रबाट प्राप्त हुने राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन सहयोग तथा जमिनमा थप फौज परिचालन गरिने सेनाले जनाएको छ । अन्य सुरक्षा निकाय, सम्बन्धित संघसंस्था तथा स्थानीय नागरिकसँगको समन्वयमा लक्षित वर्गको खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिइनेछ ।
सेनाका अनुसार आज दिनभर उद्धार तथा राहत कार्यमा १ हजार ६९७ जना फौज परिचालन गरिएको थियो भने थप तयारीका लागि ६५६ जना फौज तयारी अवस्थामा राखिएको छ । आज उद्धार, खोज तथा राहत कार्यका क्रममा ६ वटा सैनिक हेलिकप्टरमार्फत ९४ जना र पाँच वटा गैरसैनिक हेलिकप्टरमार्फत १२ जना को उद्धार गरिएको सेनाले जनाएको छ । यस्तै, जमिनबाट थप २७ जनाको उद्धार गरिएको छ ।
प्रभावित क्षेत्रमा राहतस्वरूप आज ८०० केजी टेन्ट तथा २०० केजी मेडिकल सामग्री पुर्याइएको छ । उद्धारका लागि परिचालित हेलिकप्टरमार्फत प्रभावित तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई खाना र पानीसमेत उपलब्ध गराइएको सेनाले जनाएको छ ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेपछि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय उद्धार तथा खोजी कार्यमा परिचालित छन् । सेनाले प्रभावित नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राख्दै मौसम तथा भौगोलिक अवस्थालाई ध्यानमा राखेर उद्धार कार्यलाई निरन्तरता दिने जनाएको छ ।
