बाढीपीडितका लागि भारत, चीन र विश्व बैंकबाट तत्काल सहयोग जुट्दै
बाढीको समाचार सार्वजनिक भएलगत्तै बुधबार बिहान १०ः३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले भेट गरी विभिन्न स्रोतबाट आपतकालीन सहयोगस्वरूप करिब २५ अर्ब रुपैयाँसम्म सहयोग गर्न सकिने जानकारी गराएका हुन् ।
काठमाडौँ । विपद्ग्रस्त नेपालका बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
बाढीको समाचार सार्वजनिक भएलगत्तै बुधबार बिहान १०ः३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले भेट गरी विभिन्न स्रोतबाट आपतकालीन सहयोगस्वरूप करिब २५ अर्ब रुपैयाँसम्म सहयोग गर्न सकिने जानकारी गराएका हुन् ।
दक्षिणी छिमेकी भारतले बाढीपीडितका लागि तत्काल आवश्यक पर्ने राहत सामग्रीको सूची सरकारसँग मागेको छ। प्रधानमन्त्री, अर्थमन्त्रीलगायत वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आजै काठमाडौं ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।
यस्तै, उत्तरी छिमेकी चीनले पनि बाढी प्रभावितका लागि तत्काल नगद सहयोग गर्ने भएको छ । सहयोग रकम पठाउने प्रक्रिया अघि बढाउन चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन् ।
छिमेकी मुलुक तथा दातृ निकायबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोगको मोडालिटीबारे अन्तरसरकारी समन्वयमार्फत छलफल भइरहेको बताएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेपछि घरेलु तथा बाह्य स्रोतबाट राहत र पुनर्निर्माणका लागि सहयोग जुटाउने बाटो खुलेको हो ।