भोटेकोशी बाढी: त्रिशूली बजार आसपासका करिब ६० घर बगायो
बाढीका कारण त्रिशूली र देवीघाट जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ। त्यस्तै, २५ मेगावाट क्षमताको सौर्य प्लान्टका तीनवटा ब्लक र सबस्टेसन पनि बाढीले बगाएको जनाइएको छ ।
काठमाडौं । रसुवातर्फबाट आएको बाढीले नुवाकोटको त्रिशूली बजार आसपासमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण त्रिशूली बजार क्षेत्रका करिब ६० घर बगेका छन् भने देवीघाट क्षेत्र पनि प्रभावित भएको छ ।
बाढी आउन सक्ने पूर्वसूचना पाएपछि त्रिशूली नदी आसपासका स्थानीयलाई सुरक्षित स्थानमा सारिएकाले हालसम्म मानवीय क्षति भएको विवरण नआएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
उनका अनुसार बाढीबाट भएको क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ। प्रारम्भिक विवरणअनुसार त्रिशूली बजारका केही घरसहित त्रिशूली नदीमाथिका दुईवटा पक्की पुलसमेत बगेका छन् ।
बाढीका कारण त्रिशूली र देवीघाट जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ। त्यस्तै, २५ मेगावाट क्षमताको सौर्य प्लान्टका तीनवटा ब्लक र सबस्टेसन पनि बाढीले बगाएको जनाइएको छ । बाढीबाट प्रभावित क्षेत्रमा क्षतिको थप विवरण संकलन तथा उद्धार कार्य भइरहेको छ ।
