बीमाका बारेमा भ्रामक र अतिरञ्जित प्रचारप्रसार गर्ने अभिकर्तालाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

विज्ञापन
ncell

प्राधिकरणले भविष्यमा यस्ता गतिविधि भएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने स्पष्ट पारेको छ ।

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमाका बारेमा भ्रामक र अतिरञ्जित प्रचारप्रसार गर्ने अभिकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणको मध्यस्थकर्ता व्यवस्थापन शाखाले सोमबार इजाजतप्राप्त सबै बीमा अभिकर्ताका नाममा परिपत्र जारी गर्दै बीमा ऐन, २०७९ तथा प्रचलित आचारसंहिताविपरीत हुने कुनै पनि प्रकारका प्रचारप्रसार तत्काल बन्द गर्न निर्देशन दिएको हो । 

विभिन्न बीमा संस्थाको व्यवसायमा प्रतिकूल असर पर्ने गरी गलत तथा भ्रामक प्रचारप्रसार भइरहेको भन्दै प्राधिकरणमा उजुरी तथा गुनासा प्राप्त भएको जनाएको छ । त्यस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बीमा अभिकर्ता निर्देशन, २०८३ को दफा १९ अन्तर्गत बीमा अभिकर्ताको आचारसंहितामा आफू अभिकर्ता रहेको बीमक वा आफूले प्रतिनिधित्व गर्ने बीमकको क्षमता तथा व्यवसायबारे गलत र अतिरञ्जित प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । उक्त व्यवस्थाविपरीत कुनै बीमकको व्यवसायमा असर पार्ने, गलत सूचना फैलाउने वा आफ्नो प्रतिनिधित्व गर्ने बीमकको क्षमता बढाइचढाइ प्रस्तुत गर्ने गतिविधि नगर्न प्राधिकरणले अभिकर्ता तथा मध्यस्थकर्तालाई सचेत गराएको छ ।

प्राधिकरणले भविष्यमा यस्ता गतिविधि भएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने स्पष्ट पारेको छ ।