पार्टीको नेतृत्वमा युवालाई ल्याउनुपर्छ: झलनाथ खनाल

विज्ञापन
ncell

उनले देशका सबै प्रमुख राजनीतिक दलहरूभित्र गम्भीर आन्तरिक संकट देखिएको बताए । नेपाली काँग्रेस दुई चिरामा विभाजित रहेको उल्लेख गर्दै उनले काँग्रेस अहिले एकतावद्ध भएर प्रभावकारी ढङ्गले अघि बढ्नसक्ने अवस्थामा नरहेको टिप्पणी गरे ।

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कम्युनिष्ट पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन् ।  पार्टीको कोशी प्रदेश समितिले शनिबार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले अब पार्टीको नेतृत्वमा युवा आउनुपर्ने बताएका हुन् । उनले देश संकटमा रहेकोले संकटबाट मुक्ति दिलाउन युवालाई अगाडि सार्नुपर्ने बताए ।

उनले देशका सबै प्रमुख राजनीतिक दलहरूभित्र गम्भीर आन्तरिक संकट देखिएको बताए । नेपाली काँग्रेस दुई चिरामा विभाजित रहेको उल्लेख गर्दै उनले काँग्रेस अहिले एकतावद्ध भएर प्रभावकारी ढङ्गले अघि बढ्नसक्ने अवस्थामा नरहेको टिप्पणी गरे । नेकपा एमालेभित्र पनि पुनर्गठनको माग बलियो बन्दै गएको उनको दाबी छ । एमालेभित्र पुनर्गठनको माग उठाउने नेताकार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओलीले ‘क्यान्टिनमा बसेर चिया खाँदै पुनर्गठनको गफ गर्ने आवारा’का रूपमा टिप्पणी गरेको प्रसंगसमेत उनले उल्लेख गरे ।

उनले एमालेभित्र बहुसंख्यक नेता तथा कार्यकर्ता पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्नुपर्ने निष्कर्षमा पुगेको उनको भनाई छ । उनले यही आवश्यकता नेपाली कम्युनिष्ट पार्टीमा समेत रहेको बताउनु भयो । नेकपालाई पुनर्गठन र रूपान्तरण नगरिकन अगाडी बढ्न नसकिने उनको भनाई छ ।

उनले पुराना नेताहरूले नयाँ पुस्तालाई निरन्तर अर्ती-उपदेश दिनेभन्दा उनीहरूलाई नेतृत्वमा अघि बढ्न अवसर दिनुपर्नेमा जोड दिए । पुराना नेताहरूले सल्लाह, प्रशिक्षण र मार्गदर्शन दिने तथा नयाँ पुस्ताले नेतृत्व सम्हाल्दै अघि बढ्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाई छ ।