दुबईमा ४० अर्ब रहेको हल्ला पुष्टि गरियोस् छानबिनका लागि तयार छौं: गंगा दहाल

विज्ञापन
ncell

उनले राजनीतिक प्रतिशोधका नाममा बिना प्रमाण आरोप लगाउनु स्वीकार्य नहुने बताउँदै सत्य अन्ततः स्थापित हुने उल्लेख गरेकी छन् । उनले आफू र आफ्नो परिवार संविधान तथा कानुनअनुसार हुने जुनसुकै निकायको कानुनी छानबिनका लागि सधैँ तयार रहेको बताएकी छन् ।

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री तथा स्वकीय सचिव गङ्गा दाहालले आफ्नो परिवारमाथि लगाइएका आर्थिक अनियमिततासम्बन्धी आरोपको खण्डन गरेकी छन् । सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै दाहालले आफू र आफ्नो परिवारविरुद्ध नियोजित रूपमा अफवाह फैलाउने काम भइरहेको दाबी गरेकी हुन् ।

उनले यसअघि आफ्नो परिवारसँग दुबईमा ४० अर्ब रुपैयाँ रहेको तथा नेपालका ठूला घरजग्गा र विभिन्न व्यवसायमा स्वामित्व रहेको जस्ता आरोप लगाइएको उल्लेख गर्दै अहिले त्यस्ता आरोपको पुष्टि नभएपछि ५० करोड रुपैयाँको हल्ला फैलाउन खोजिएको बताएकी छन् ।

दाहालले आफू र आफ्नो परिवारमाथि लगाइएका आरोप पुष्टि गर्न अफवाह फैलाउनेहरूलाई सार्वजनिक चुनौतीसमेत दिएकी छन् । उनले राजनीतिक प्रतिशोधका नाममा बिना प्रमाण आरोप लगाउनु स्वीकार्य नहुने बताउँदै सत्य अन्ततः स्थापित हुने उल्लेख गरेकी छन् ।

उनले आफू र आफ्नो परिवार संविधान तथा कानुनअनुसार हुने जुनसुकै निकायको कानुनी छानबिनका लागि सधैँ तयार रहेको बताएकी छन् । साथै, आफ्नो परिवारले केही समयअघि नै सरकारसमक्ष सम्पत्ति विवरण बुझाइसकेको दाबी गर्दै सरकारले गर्ने अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।

गलत आर्थिक गतिविधि वा पदको दुरुपयोग गरेको पुष्टि भए कानुनी कारबाही भोग्न तयार रहेको तर बिना आधार लगाइने आरोप भने स्वीकार्य नहुने उनको भनाइ छ । दाहालले आफूहरू संघर्षपूर्ण राजनीतिक पृष्ठभूमिबाट आएको उल्लेख गर्दै जनतालाई धोका दिने काम आफ्नो संस्कार र शिक्षाको हिस्सा नभएको दाबी गरेकी छन् । आफ्नो व्यक्तिगत जीवनसमेत नहेरी बुवालाई छोरीका रूपमा सहयोग गर्नु नै आफ्नो अपराध हो भन्दै प्रश्नसमेत गरेकी छन् ।