सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
नेकपातर्फ साविक माओवादी केन्द्रका सभामुखबाहेक १०, साविक नागरिक उन्मुक्ति पार्टीका ७ तथा साविक नेकपा एकीकृत समाजवादीका निलम्बित सांसदबाहेक ३ जनाले विश्वासको मत दिएका छन् ।
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले आज प्रदेश सभामा विश्वासको मत मागेका थिए । भट्टको पक्षमा ३१ सांसदले मतदान गरेका छन् । उनको पक्षमा नेकपा एमालेका ११ र नेकपाका २० सांसदले मतदान गरेका हुन् ।
नेकपातर्फ साविक माओवादी केन्द्रका सभामुखबाहेक १०, साविक नागरिक उन्मुक्ति पार्टीका ७ तथा साविक नेकपा एकीकृत समाजवादीका निलम्बित सांसदबाहेक ३ जनाले विश्वासको मत दिएका छन् । मुख्यमन्त्री भट्टको विपक्षमा भने नेपाली कांग्रेसका १७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ सांसदले मतदान गरेका छन् ।
५१ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा डडेल्धुराबाट निर्वाचित तारा जोशीले राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए । यस्तै, कैलालीबाट निर्वाचित प्रकाश देउवाको पद रिक्त रहेको छ भने कैलालीकै अर्का सांसद दीर्घ सोडारी निलम्बनमा छन् । यससँगै मुख्यमन्त्री भट्टले प्रदेश सरकार सञ्चालनका लागि प्रदेश सभाको विश्वास प्राप्त गरेका छन् ।
