इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन: नेकपा सांसद विष्ट
सांसद विष्टले सरकारले विगतका उपलब्धिहरूको अवमूल्यन गरेको, प्रशासनिक अराजकता फैलाएको र विलासितामा राज्यकोषको दोहन गरेको आरोप लगाए ।
काठमाडौं । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले वर्तमान सरकार र युवा मन्त्रीहरूको कार्यशैलीप्रति असन्तोष व्यक्त गरेका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विष्टले सरकारले विगतका उपलब्धिहरूको अवमूल्यन गरेको, प्रशासनिक अराजकता फैलाएको र विलासितामा राज्यकोषको दोहन गरेको आरोप लगाए ।
सांसद विष्टले सूचना प्रविधिको नारा दिएर सत्तामा आएका नयाँ राजनीतिक शक्ति र युवा मन्त्रीहरूले नै खरिद प्रक्रियामा अनियमितता गरेको दाबी गरे । उनले भेरी लिफ्ट खानेपानी आयोजना लगायतका विकास निर्माणका काममा भइरहेको राजनीतिक हस्तक्षेप र ठेक्का रद्ध गर्ने कार्यको तत्काल छानबिन गर्न माग गरे । युवा मन्त्रीहरूले सदनमा उत्तर दिँदा विगत ३५ वर्षलाई गाली गर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै विष्टले इतिहासको सम्मान गर्न सुझाव दिए । सांसद विष्टले कर्मचारी प्रशासनमा सरकारले ‘आतङ्क’ सिर्जना गरेको आरोप समेत लगाए ।
ऐन र नियम विपरित अवकाश हुन लागेका अनुभवी सहसचिवहरूलाई मन्त्रालयमा थुनेर राख्ने र सचिवालयमार्फत शासन चलाउन खोज्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने उनको तर्क छ । सरकारले सुशासनको दाबी गरे पनि व्यवहारमा राज्यकोषको चरम दुरुपयोग भइरहेको उनले बताए । उनले विगतमा उपसचिव तहका सीमित स्वकीय सचिव रहने परम्परा तोडेर मन्त्री सरहको सुविधा दिने गरी सल्लाहकार र सहयोगीहरूको भीड जम्मा गरिएको भन्दै सरकारको आलोचना गरे । जनताले अझै पनि ग्यास, पासपोर्ट र दैनिक उपभोग्य वस्तुका लागि लाइन लाग्नुपर्ने बाध्यता रहेको भन्दै विष्टले सामाजिक सञ्जालमा गाली गरेर र गलत भाष्य निर्माण गरेर मुलुक नचल्ने बताए । उनले सरकारलाई इतिहासको अध्ययन गरी संयमित र जिम्मेवार भएर अघि बढ्न सुझाव दिए ।
