लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
पीडितहरूका समस्या समाधानका लागि विगतको अन्तरिम सरकारले गरेका सम्झौताहरूको स्मरण गराउँदै भण्डारीले वर्तमान सरकारले ती सम्झौताका आधारमा समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने सुझाव दिइन् ।
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी र मिटरब्याज पीडितका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्नेमा जोड दिएकी छन् । मङ्गलबार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अगाडि धर्नामा रहेका वित्तीय पीडितहरूलाई भेट्न पुगेकी भण्डारीले आन्दोलनरत महिलाहरूको स्वास्थ्य स्थितिप्रति चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले पीडितका मागहरूका बारेमा जानकारी लिएको उल्लेख गर्दै यस विषयमा सरकारले गम्भीर भएर समाधानका उपाय खोज्नुपर्ने बताइन् । पीडितहरूका समस्या समाधानका लागि विगतको अन्तरिम सरकारले गरेका सम्झौताहरूको स्मरण गराउँदै भण्डारीले वर्तमान सरकारले ती सम्झौताका आधारमा समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने सुझाव दिइन् ।
भण्डारीले सामाजिक न्यायका लागि भइरहेको यस आन्दोलनप्रति ऐक्यवद्धता समेत प्रकट गरिन् । भेटका क्रममा आन्दोलनरत पीडितहरूले आफ्ना समस्या र पीडा सुनाएका थिए । पीडितहरूका तर्फबाट बोल्दै एक सहभागीले आफूहरू विगत चार दिनदेखि धर्नामा रहेको र कतिपय पीडितहरू सुनसरीको इनरुवादेखि १९ दिनको पैदल यात्रा गरेर काठमाडौं आएको जानकारी गराइन् ।
उनीहरूले तत्कालका लागि घुम्ती शौचालय र सुरक्षित बासस्थानको व्यवस्था गरिदिन पूर्वराष्ट्रपतिसँग आग्रह गरेका थिए। विगत केही समयदेखि लघुवित्त र मिटरब्याजका कारण समस्यामा परेका सर्वसाधारणहरू न्यायको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।
