विपद् व्यवस्थापन र जनसरोकारका मुद्दामा सरकार गैरजिम्मेवार भयोः वर्षमान पुन
उनले गृहमन्त्री आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त रहेको भन्दै देशभरको विपद्को अवस्था र राहत वितरणबारे सदनलाई तत्काल जानकारी गराउन माग गरे ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले मुलुकमा बढ्दो मनसुनजन्य विपद् व्यवस्थापन, जनसरोकारका समस्या र सरकारको कुटनीतिक कमजोरीका विषयमा प्रश्न उठाएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका पुनले सरकारले जनताका आधारभूत आवश्यकता सम्बोधन गर्नुको साटो राज्यशक्तिको दुरुपयोग गरिरहेको आरोप लगाएका हुन् ।
संसद पुनले जाजरकोट, रोल्पा र बागलुङ लगायतका जिल्लाहरूमा विपद्का कारण ठूलो क्षति भएपनि उद्धार, पुनस्र्थापना र पुनर्निर्माणको कार्य सुस्त रहेको बताए । विपद् व्यवस्थापनका लागि भूगर्भिक अध्ययन टोली पठाउन र जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्न उनले सरकारको ध्यानाकर्षण गराए ।
उनले गृहमन्त्री आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त रहेको भन्दै देशभरको विपद्को अवस्था र राहत वितरणबारे सदनलाई तत्काल जानकारी गराउन माग गरे । वर्तमान सरकारले जनतालाई डेलिभरी दिने सवालमा पुरानै प्रवृति दोहोर्याएको उनको तर्क छ । ग्यास, मल र राहदानी (पासपोर्ट) लिन जनता अझै पनि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको भन्दै उनले नयाँ भनिएका शक्तिहरू सरकारमा जाँदा पनि अवस्थामा सुधार नआएको टिप्पणी गरे ।
परराष्ट्र नीतिका सम्बन्धमा बोल्दै पुनले सरकारले छिमेकी राष्ट्रहरूसँगको सम्बन्धमा अपरिपक्वता र दोहोरो चरित्र देखाएको आरोप लगाए । सांसद पुनले सामाजिक र धार्मिक सद्भाव कायम राख्न संविधानको धारा ५ र २६ बमोजिम तत्काल नयाँ कानून निर्माण गर्न सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गरे । उनले धर्मलाई राजनीतिको हतियार बनाउने स्वार्थ समूहहरू सक्रिय रहेको भन्दै सरकारले यस्ता विषयमा शून्य सहनशीलताको नीति लिनुपर्नेमा जोड दिए ।
