सरकार प्रचारमुखी मात्रै भयो, नतिजा शून्य छः सांसद मिश्र
काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले वर्तमान सरकार परिणाममुखी हुनुको सट्टा प्रचारमुखी मात्र भएको आरोप लगाएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद मिश्रले सरकारले जनतालाई आशाभन्दा पनि ठोस परिणाम दिनुपर्नेमा जोड दिएका हुन् ।
सरकारले जनताका आधारभुत आवश्यकता, सुशासन र रोजगारीको पहिचान गर्नुको सट्टा केवल प्रचारको पहिचान गरिरहेको उनको तर्क छ । मिश्रले छिमेकी मुलुकहरू र अन्य एशियाली राष्ट्रहरूको आर्थिक विकासको उदाहरण प्रश्तुत गर्दै नेपालको पछौटेपनप्रति चिन्ता व्यक्त गरे ।
सन् १९५० को दशकमा नेपालको आर्थिक अवस्था दक्षिण कोरिया, थाइल्याण्ड र मलेसियाको हाराहारीमा भएपनि हाल ती मुलुकहरू विश्वकै समृद्ध राष्ट्रमा गनिन सफल भएको उनले उल्लेख गरे । स्वदेशमा रोजगारीको अभावमा युवाहरू खाडी मुलुक पलायन भइरहेको र विमानस्थलको दृश्यले सरकारको रोजगारी दिने नारालाई गिज्याइरहेको उनले टिप्पणी गरे । गाउँघर युवाविहीन भएको र विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको प्रति उहाँले सरकारको ध्यानाकर्षण गराए ।
